फाइल तस्बिर काठमाडौं- यातायात व्यवस्था विभागले दसैँका लागि अग्रिम टिकट बुकिङको आवश्यकता नै नरहेको बताएको छ। दशैंमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषयमा अन्यौल सिर्जना भएसँगै राखिएको जिज्ञासामा विभागले यस्तो प्रतिक्रिया दिएको हो।
विभागले यात्रुको चापको अवस्था हेर्दा अग्रिम टिकट बुकिङको आवश्यकता नदेखिएको उल्लेख गरेको हो।
विभागका निर्देशक डा. लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गर्न बाँकी रहेको तर यसवर्ष आवश्यकता नै कम देखिएको बताए।
यस वर्षको दशैंमा ४/५ लाखको संख्यामा मात्रै यात्रु बाहिरिने देखिएकोले अग्रिम टिकट बुकिङ आवश्यक नदेखिएको उनको भनाइ छ। अहिले पनि काठमाडौंबाट मध्यम र लामो दुरीका सवारी साधनमा आधा संख्यामा पनि यात्रु उपलब्ध नभएको पाइएको उनले बताए। तरपनि २५ गते पछि यात्रुको संख्या बढ्ने सम्भावना देखिएकोले टिकङ बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरी टुङ्गोमा पुगिने उनले भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणको स्थितिलाई हेरेर आफू रहेकै स्थानमा दसैँ मनाउन र यात्रा नगर्न आग्रह गरेको छ। यसले पनि मानिसहरुको आवागमन कम हुने आँकलन आफूहरुको रहेको भुसालको भनाइ छ।
अग्रिम टिकट बुकिङको व्यवस्था नभएपनि दशैंमा घर जान चाहने यात्रुलाई व्यवस्थित रुपमा सुरक्षित तरिकाले सरकारले तोकेको भाडादरमा सहजै यात्रा गर्न पाउने व्यवस्था मिलाउने विभागका निर्देशक भुसालको भनाइ छ।
गत वर्ष दशैंको बेलामा करिब २० लाख मानिसहरु काठमाडौंबाट बाहिरिएका थिए। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार भन्दा माथि पुगेमा लकडाउन गर्न सिफरिस गरेको कारणले पनि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने नगर्ने भन्ने सम्बन्धमा अन्योल देखिएको भुसालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।