काठमाडौँ- नर्भिक अस्पतालले कोभिड सुरक्षा शुल्क (कोभिड प्रोटेक्सन चार्जेज) लिनु आफूहरूको बाध्यता भएको स्पष्टीकरण दिएको छ। विभिन्न संचारमाध्यममा नर्भिकले सेवाग्राहीबाट कोभिड सुरक्षा शुल्क उठाएको समाचार सार्वजनिक भएपछि अस्पतालले यस्तो स्पष्टीकरण दिएको हो।
अस्पताल आउने बिरामी र भिजिटरले ल्याउनसक्ने संक्रमणलाई व्यवस्थापन र नियन्त्रण गर्न आफूहरूले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले सेवाग्राहीबाट शुल्क लिनु पर्ने बाध्यता भएको अस्पतालको भनाइ छ।
'कोभिड संक्रमण नियन्त्रणका प्रयासमा ठूलो धनराशि खर्च हुने गर्छ, जसको व्यवस्थापन वर्तमान शुल्कबाट असंभव छ। अहिलेको जटिल परिस्थितिमा विकल्पविहीन भएका हामीले बाध्य भएर कोभिड प्रोटेक्सन चार्ज लिइरहेका हौं,' अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कोभिड सुरक्षा शुल्कलाई बिरामीहरुको संरक्षणका लागि प्रयोग गरिएको भनी बुझिदिन अस्पतालको आग्रह छ।
अस्पतालमा रहेका ननकोभिड बिरामीलाई संक्रमणबाट पूर्ण रुपमा सुरक्षित राख्न सकियोस् भन्नेमा अस्पताल सजक भएको र यसको व्यवस्थापनमा केही शुल्क सेवाग्राहीबाट लिइएको अस्पतालको भनाइ आएको हो।
अस्पताल भवनलाई डब्ल्यूएचओले तोकेको, अन्तराष्ट्रिय गाइडलाइनअनुसार अस्पतालको ठाउँ–ठाउँमा ह्यान्ड स्यानिटाइजेसनको उपलब्धता, भिजिटरहरुलाई निःशुल्क मास्क डिस्पोजेबल मास्क वितरण, डिस्पोजेबल शू कभर आदिको प्रयोग गर्न लगाउने व्यवस्था गरिएको अस्पतालको दाबी छ। सेवाकर्मीहरुलाई संक्रमणबाट सुरक्षित राख्न र उनीहरुबाट बिरामीलाई संक्रमण हुन नदिन विभिन्न खालका प्रोटेक्टिभ डियर्स प्रयोग गरिएको अस्पतालको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।