काठमाडौं- अमेरिका नेपाल मेडिकल फाउण्डेसनले २३ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीको जीवनरक्षाको लागि अपिल गरेको छ। डा. केसीले सुरु गरेको १९औं अनसनलाई फाउण्डेसनले गम्भीरतापूर्वक लिएको बताउँदै उनका प्रमुख मागहरुप्रति फाउण्डेसनको ऐक्यबद्धता रहेको समेत जनाएको छ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै फाउण्डेशनले भनेको छ, ‘केही मागहरुप्रति हाम्रो पनि फरक धारणा भए पनि डा. केसीले राखेका प्रमुख मागहरु स्वास्थ्य सेवाको विकेन्द्रीकरण, ग्रामीणमैत्री मेडिकल शिक्षा, न्यायसंगत स्वास्थ्य सेवाको वितरणलगायतका माग नेपालमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको विकासका लागि हामीले राखेका लक्ष्यहरुसँग समान भएको फाउण्डेशनले विश्वास गरेको छ।’
अहिलेको यो परिस्थितिसँग सम्बद्ध सबै पक्षले छिटै यो समस्याको समाधान खोज्ने र डा. केसीको जीवन रक्षा गरिने अपेक्षा फाउण्डेसनले नेपालमा गरेको जनाएको छ।
डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फाउण्डेसनले नेपालमा न्यायसंगत र सबैको पहुँच स्थापित हुनसक्ने स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको सपना छिटै साकार हुने अपेक्षा गरेको छ।
भदौ २९ गते जुम्लाबाट थालेको डा केसीको अनशन २३ औं दिनमा पुगेको छ। हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ भने सरकारले माग पूरा गर्न हालसम्म कुनै चासो देखाएको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।