काठमाडौं-अवैध बाटोबाट महगा कार आयात गरेका श्रीमा डिस्ट्रिब्युसन नेपाल र प्रिन्सा अटोमोटिभ्सले सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी स्थगित भएको छ। मंगलबारका लागि तोकिएको पेसी स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्चका १७ जना न्यायाधीश कोरोना भाइरसको संक्रमण जोखिमका कारण आइसोलेसनमा गएकाले मुद्दा स्थगित भएको हो।
आवश्यक कागजात विना नै टेस्लाका कार आयात गरेको श्रीमा र अउडीको कार आयात गरेको प्रिन्सा सर्वोच्च पुगेका हुन्। टेस्ला आयातकर्ता श्रीमाले सर्वोच्चको आदेशको दुरुपयोग गर्दै कार दर्ता गराएको थियो। कारको कर पुरानै आर्थिक ऐन अनुसार हुने वा नयाँ अनुसार हुने, आयातको वैधानिकता के हो जस्ता विषयको अन्तिम फैसला सर्वोच्चले गरिसकेको छैन।
तर विद्युतीय कार भएकाले सुरक्षित राख्न सर्वोच्चले दिएको आदेशको दुरुपयोग गर्दै श्रीमाले टेस्लाका दुई कारको दर्ता गरेर चलाउन थालेको थियो। त्यसबारेमा नेपाल लाइभले निरन्तर समाचार प्रकाशित गरेपछि उक्त कारको दर्ता खारेज भएको थियो।
दर्ता खारेजविरुद्ध श्रीमा असोज ९ मा सर्वोच्च गएको र असोज १३ मा न्यायाधीश प्रकाशमानसिंह राउतले विषयवस्तुको गाम्भीर्यतामा नगई अल्पकालीन अन्तरिम आदेश दिएका थिए। असोज २० का लागि दुवै पक्षलाई छलफलमा बोलाइएको थियो। तर सर्वोच्चका न्यायाधीशहरु आइसोलेसनमा भएकाले आजका अधिकांश मुद्दा स्थगित भएका छन्।
टेस्लाकै बाटोबाट आयात भएको अउडीका कार आयातकर्ता प्रिन्सा अटोमोटिभ्सले दायर गरेको रिटमा सर्वोच्चले काजगात मगाई छलफलमा बोलाएको थियो। टेस्ला आयातकर्ता श्रीमाले दायर गरेको रिटमा अन्तरिम आदेश दिएको सर्वोच्चले समान गलतबाटोबाट आएको अउडीको आयातकर्ता प्रिन्साले दायय गरेको रिटमा भने अन्तरिम आदेश दिएन।
प्रिन्साले पहिलो पटक २०७६ साउनमा अउडीका तीनवटा विद्युतीय कार आयात गरेको थियो। उक्त कार गलत बाटोबाट आयात भएको समाचार निरन्तर आएपछि दोस्रो पटक आयात भएका तीनवटा कार भन्सारमै रोकिएका छन्। श्रीमाले आयात गरेका दुई टेस्ला भन्सार जाँचपास गराएर काठमाडौं ल्याउने क्रममा जाँचपासमा शंका लागेको भन्दै भन्सारले बीचबाटो बाटै फर्काएर पुनः भन्सारमै लगेर राखेको थियो।
नयाँ आर्थिक ऐन आएर विद्युतीय कारको कर बढेपछि श्रीमाले कार छुटाउन गएको जेठमा सर्वोच्चमा मुद्दा दायर गरेको थियो। सर्वोच्चले श्रीमालाई गाडी दिन भन्सार कार्यालयलाई अन्तरिम आदेश दिएपछि प्रिन्सासमेत सर्वोच्च पुगेको थियो। तर प्रिन्साले भने गाडी छुटाउन अन्तरिम आदेश पाएन। सोही मद्दाको पेसी मंगलबारका लागि थियो। तर त्यो स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।