काठमाडौँ- तीन वटा मेडिकल शिक्षण संस्थाका आवासीय चिकित्सकहरूले डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै ओपिडी सेवा बहिष्कार गर्ने निर्णय गरेका छन्। सोमबार साँझमा एक विज्ञप्ति जारी गर्दै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल (न्याम्स) र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरूले ओपिडी सेवा बहिष्कारको निर्णय गरेका हुन्।
डा केसीले अनसन सुरु गरेको २२ दिन बित्दा पनि माग पूरा गर्न सरकारले गैरजिम्मेवारी पन र असंवेदनशीलता देखाएको भन्दै आवासीय चिकित्सकहरूले चरणवद्ध रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै आएका छन्।
ओपिडी सेवा बन्द गर्नुका साथै आवासीय चिकित्सकहरूले कालोपट्टीसहित धर्नाका विभिन्न कार्यक्रमसमेत संचालन गरिने बताएका छन्। तर कोभिड, इमर्जेन्सी तथा इन्डोर सेवा अवरोध नगरिए पनि कालोपट्टी बाँधी सेवा प्रवाह गर्ने आवासीय चिकित्सकहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
डा केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी तत्काल उनका माग पूरा गर्न समेत उनीहरूले माग गरेका छन्। सरकारले तत्काल डा केसीका माग पूरा नगरे थप कडा आन्दोलनका कार्यक्रम गर्ने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने उनीहरूको चेतावनी समेत छ।
डा केसी त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन्। उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपनि सरकारले भने उनका माग र अनसनप्रति कुनै चासो देखाएको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।