काठमाडौं- २२ दिनदेखि अनशनमा रहेका प्रा डा गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै साझाले डा केसीको स्वास्थ्य नाजुक बन्दै गएको अवस्था र त्यसप्रति सरकारको उदासीनताबारे साझा पार्टीले गम्भीर चिन्ता व्यक्त गरेको छ।
साझा पार्टीका सहप्रवक्ता शदरराज पाठकले जारी गरेको विज्ञप्तिमा डा केसीले १९औँ अनशनमा राखेका माग नाजायज भए सरकारले आम जनतालाई व्याख्या गर्न माग सरकारसँग गरेको छ। ‘विश्वमै विरलै भेटिने डा केसीजस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपर्दैन?’ विज्ञप्तिमा भनिएको छ‚ ‘डा केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन्। तर यिनै दलले पटक पटक सरकारको नेतृत्व गर्दा पनि डा केसी उस्तै माग राखेर फेरि फेरि अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु बिडम्बनाको विषय हो।’
वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्र उनी ६ पटक अनशन बसिसकेको विज्ञप्तिमा उल्लेख छ। ‘यसपटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ’ विज्ञप्तिमा भनिएको छ‚ ‘वार्ता टोलीसम्म गठन गरेको छैन। कुचोले बढार्नुपर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस् भनेझैँ रवैया प्रस्तुत गरिरहेको छ। के सरकारले डा केसीलाई मार्नै खोजेको हो?’
पछिल्लो पटक २०७५ साउन १० गते केसीसँग अहिलेकै सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेका प्रधानमन्त्रीलाई डा केसी तिनै मागहरूसहित पुनः अनशन बस्दा किन लज्जाबोध नभएको साझाको विज्ञप्तिमा भनिएको छ।
सरकारी बेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेमा साझाको चेतावनी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।