काठमाडौं- एनआइसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइल्स प्राइभेट लिमिटेडबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १२ हजार नगद छुट र ३ हजार नगद फिर्ता गरी कुल १५ हजार रकम छुट प्राप्त गर्ने समझदारी भएको छ।
यस सम्बन्धमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र भिजी अटो मोबाइल्सको तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भिजी अटोमोबाइल्सका सोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गरेमा १५ हजार रकम छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ। यो योजना २०७७ मंसिर ५ गतेसम्म लागू हुने बैंकले जनाएको छ।
भिजी अटोमोबाइल्ससँगको सहकार्यले ग्राहकहरूको दुई पाङ्ग्रे सवारीको आवश्यकतालाई पूरा गर्न सहजता प्रदान गर्ने बैंकले विश्वास लिएको छ। बैंकले क्रेडिट कार्ड उपभोग गर्नका लागि अनलाइनबाटै सहज रुपमा आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ। जसमार्फत् कार्ड प्रयोगकर्ताले जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सक्नेछन्।
कोभिड-१९ संक्रमणलाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न आकर्षक योजनाहरू सञ्चालन गर्दै आएको छ। यसैबीच बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ।
यो बैंक मुलुकभर ३२६ शाखा कार्यालय, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो। वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।