काठमाडौं–नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयनमा उपयोग गर्नुपर्नेमा जोड दिएको छ।
संयुक्त राष्ट्र संघको ७५औँ महासभाका सिलसिलामा आणविक शस्त्रास्त्रको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज न्यूयोर्कमा आयोजित उच्चस्तरीय बैठकमा नेपालले आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने यथार्थ प्रस्तुत गरेको हो।
पूर्वअभिलखित भिडियो सम्बोधनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पारमाणविक दुर्घटनाले एक झपटमै हजारौँ जीवन ध्वस्त पार्ने सन्दर्भ सुनाउँदै कोभिड–१९ विरुद्धको औषधिले मानव जीवन जोगाए पनि आणविक अस्त्रले अमूल्य जीवन बचाउन नसक्ने तर्क गरे।
अणविक हातहतियारको पूर्ण उन्मूलन तथा आमविनाशकारी सबै हतियारको पूर्ण निःशस्त्रीकरणका पक्षमा नेपाल रहेको दोहोर्याउँदै मन्त्री ज्ञवालीले ऊर्जा उत्पादन, स्वास्थ्य सेवा प्रवद्र्धन, कृषि उत्पादकत्व वृद्धि र मानव जीवनरक्षालगायत शान्तिपूर्ण प्रयोजनका निम्ति आणविक प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिए।
बैठकलाई १५ देशका राष्ट्राध्यक्ष÷सरकार प्रमुख, ६४ मन्त्रीसहित ११० वक्ताले सम्बोधन गरेको न्यूयोर्कस्थित राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।