काठमाडौं–निजी क्षेत्रद्वारा सञ्चालित अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले वैज्ञानिक विधि र मापदण्डका आधारमा पिसीआर परीक्षणको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेको छ।
अफिनले एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्रका ल्याबहरुले उठाएका माग जायज भन्दै अहिलेको विषम परिस्थितिमा यो विषय वैज्ञानिक एवं तर्कसंगत ढंगबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ। सरकार र ल्याब सञ्चालकबीच यथेष्ठ छलफल भई पिसीआर शुल्क निर्धारण गर्न अफिनको माग छ।
यस विषयलाई सही ढंगबाट समाधान गर्न आफ्नो सधैं सकारात्मक सहयोग रहने उल्लेख गर्दै अफिनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ल्याब सञ्चालकबीच वार्ताको माध्यमबाट वर्तमानमा देखिएको गतिरोध अन्त्यका लागि सरकारलाई अनुरोध गरेको छ।
अफिन तथा पिसीआर परीक्षण गर्ने निजी क्षेत्रद्वारा सञ्चालित ल्याब तथा अस्पतालबीच बसेको बैठकले निजी क्षेत्रका ल्याबहरुलाई नागरिकको स्वास्थ्य परीक्षणमा बाधा पर्ने खालका कुनै पनि निर्णय गर्नुअगावै पेशागत मर्यादा, व्यावसायिक जिम्मेवारलाई उच्च बोध हुने गरी संयमित भएर सेवा सञ्चालन गर्न पनि अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।