काठमाडौं–मनसुनी वर्षा पश्चिम नेपालबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा भने मनसुन कायमै रहेको छ।
यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ बाट बाहिरिइसकेको विभागको पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले बताए। तर, गण्डकी प्रदेशसहित बाग्मती, प्रदेश २ र प्रदेश १ मा भने मनसुन कमजोर अवस्थामै भए पनि कायमै भएको उनले बताए। ‘नेपालको मनसुन पूर्वी नेपाल हुँदै पश्चिम नेपालसम्म पुग्छ। सकिने बेला पनि पश्चिम नेपाल हुँदै पूर्वी नेपालबाट बाहिरिन्छ,’ मौसमविद् पौडेलले भने, ‘यस वर्षको मनसुन पनि पश्चिम नेपालबाट सकिँदै आएको छ। हप्ता दिनभित्रै नेपालबाट बाहिरिन सक्छ।’
अब मनसुनी वायू कमजोर भईसकेकाले भारी वर्षाको सम्भावना न्यून हुदै गएको पौडेलले बताए। मनसुनी वायू सकिपछि जाडो मौसममा पश्चिमी वायूको प्रभाव सुरु हुन्छ। अहिलेसम्म पूर्वी वायूलाई पश्चिमी वायुले विस्थापित गर्न नसकेकाले अझै कायमै छ। यस वर्षको मनसुनमा धेरै वर्षा भएकाले बाढी पहिरोबाट अत्याधिक जनधनको क्षति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।