सिन्धुपाल्चोक-सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताएका छन्। बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरणका लागि भएको बैठकमा उनले यस्तो बताएका हुन्।
उक्त स्मृति उद्यानका संरक्षकसमेत रहेका सभामुख सापकोटाले राष्ट्रिय गौरवको आयोजना स्मृति उद्यान बनाउन कानुनी जटिलता हटाएर पूरा गरी छाड्ने प्रतिबद्धता जनाए। विधि, विधान निर्माण गर्ने सङ्घीय संसद्को नेतृत्व गरेको हिसाबले बैठकमा उपस्थित भएको सभामुख सापकोटाले बताए। ‘यो राष्ट्रिय गौरवको आयोजना हो, यसले अन्तर्राष्ट्रिय महत्व राख्छ’, सभामुख सापकोटाले भने, ‘यसकारण बैठकमा मेरो उपस्थिति आफैँमा अर्थपूर्ण छ।’
समस्या निराकरणका लागि जोखिम आवश्यकता परे पनि दिन आफू तयार भएरै आएको उनले बताए। राम्रो काम गर्नका लागि कानुनी जटिलतामात्रै प्रधान नरहेको उनको जिकिर थियो। देशकै स्मरणयोग्य बनाउनका लागि केही क्षति भए पनि ब्यहोर्न तयार हुनपर्नेमा उनले जोड दिए। ‘हामीले थालेको महान कार्यलाई रोक्ने होइन कि त्यसलाई ठिक ढङ्गले निकास दिनुपर्छ’, सापकोटाले भने।
स्मृति उद्यानको तत्कालीन वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा र सांसद शेरबहादुर तामाङद्वारा विसं २०७३ वैशाख २९ गते शिलान्यास गरिएको थियो। चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ दारेगौँडा पानी ट्याङ्कीमा भगवती सामुदायिक वन क्षेत्रको ४२ हजार १०८ वर्गमिटर क्षेत्रमा बन्ने गरी शिलान्यास भएको हो। निर्माण समन्वय र सहजीकरण समिति गठनसमेत भएर निर्माण सुरु भएको भनिएको उद्यान पाँच वर्ष बितिसक्दासमेत योजनामै थन्किएको छ। रु ४९ करोड ९३ लाख १६ हजार ५२४ को लागत अनुमान र उद्यानको डिपिआरसमेत सम्पन्न गरी पुनःनिर्माण प्राधिकरणबाट रु एक करोड स्वीकृत भई घेराबार लगाइएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।