काठमाडौं- एनसेलका ग्राहकले बढि शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन्। एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएजयूगो योजना ल्याएको छ‚ जसअन्तर्गत ग्राहकले कर बाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्छन्।
यो योजना बुधबार (असोज १४) देखि लागू भएको छ। पेएजयूगो अर्थात् मेन ब्यालेन्सबाटै विद्यमान प्रतिएमबी कर बाहेक २ रूपैयाँमा डेटा प्रयोग गर्ने र सुलभ दरमा डेटा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखी सुलभ दरमा सेवा प्रदान गर्न यो योजाना ल्याइएको एनसेलले जानकारी दिएको छ।
यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ। यदि ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि २० रूपैयाँसम्म खर्च गरेमा विद्यमान पेएजयूगो शुल्क २ रूपैयाँप्रति एमबी पर्दछ। एक हप्तामा ग्राहकले २० रूपैयाँदेखि ५० रूपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बित्तिकै सेवा प्रयोगका लागि प्रतिएमबी शुल्क १ रूपैयाँमा झर्दछ। त्यसैगरी यदि ग्राहकले एक हप्तामा ५० रूपैयाँभन्दा बढी खर्च गर्ने बित्तिकै प्रतिएमबीमात्र ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदा लिन सक्छन्।
साप्ताहिक चक्रमा हरेका हप्ता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पेएजयूगो डेटाअन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुन्छ। जस्तै कुनै ग्राहकले आइतबारदेखि बुधबारसम्ममा पेएजयूगो डेटा सेवामा २३ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट २० भन्दा बढी खर्च हुनेबित्तिकै पेएजयूगो शुल्क त्यही हप्ताको शनिबार मध्यरातसम्मका लागि १ प्रतिएमबीमा झर्नेछ। त्यस्तै सोही ग्राहकको खर्च उक्त हप्ता ५० भन्दा बढी हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिबार मध्यरातसम्मका लागि मात्र ४० पैसा प्रतिएमबीमा डेटा सेवाको फाइदा लिन सक्दछ।
आफ्ना ग्राहकका लागि मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकोमा एनसेल निकै हर्षित रहेकोे कम्पनीले जनाएको छ। सुलभ दरमा डेटा प्रयोग गर्न डेटा प्याकहरु सबैभन्दा राम्रो विकल्प भए पनि, यस योजनाले कुनै डेटा प्याक सुचारू नगरी पेएजयूगोमा डेटा चलाउने ग्राहकलाई ठूलो फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।