काठमाडौं– नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता सिजी मोटोकर्पले सुजुकी मोटर कर्पोरेसन (एसएमसी)का जापानी कार पनि नेपाल भित्र्याउने भएको छ। भारतमा बन्ने मारुती सुजुकीका कार मात्र नेपाल भित्र्याउँदै आएको सिजीले एसएमसीका जापानी कार पनि भित्र्याउन लागिएको जानकारी दिएको हो।
पहिलो लटमा एसएमसीको भिटारा कार नेपाल भित्र्याउने तयारी गरिएको सिजीले जानकारी दिएको छ। सिजी युरोप तथा अमेरिकी बजारमा लोकप्रिय मानिन्छ। नेपाली बजारमा भिटाराको सुरुवाती मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
सिजीले पहिलो चरणमा नेपाल ल्याउन लागेको जापानी कार भिटारामा फोर व्हिल सिस्टम, १.६ लिटरको शक्तिशाली इन्जिन र अन्य अत्याधुनिक फिचर रहनेछन् जसले यो सेग्मेन्टको ‘ड्राइभिङ एक्सपिरियन्स'लाई नयाँ उचाइमा पुर्याउने कम्पनीको विश्वास रहेकोछ।
सुजुकी भिटारा कार २०२१ मार्चसम्ममा नेपाल आइपुग्ने अपेक्षा गरिएको छ। इच्छुक ग्राहकहरुका लागि कम्पनीले प्रिबुकिङ सुरु गरिएको समेत बताइएको छ।
‘सुजुकीले नेपाली ग्राहकका लागि सबैभन्दा ठूलो रेन्जको कार उपलब्ध गराउँदै आएको छ। अब हामी सिधै एसएमसी जापानबाट प्रिमियम रेन्जका उत्पादन भित्र्याउने तयारीमा छौं,’ कम्पनीले भनेको छ।
सिजीले एसएमसी जापानबाट हायर सेग्मेन्टका मात्र कार आयात गर्ने जनाएको छ। भिटारा किन्ने ग्राहका लागि विशेष अफरको व्यवस्था गरेको कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।