काठमाडौं- लकडाउन तथा निषेधाज्ञाका कारण थलिएको अटोमोबाइल बजार चाडपर्व नजिकिएसँगै चलायमान हुने अपेक्षा व्यवसायीहरुको छ। कारको बजार अपेक्षाकृत सुधार हुने नसकेको भएपनि मोटरसाइकल तथा स्कुटरको बजार भने लयमा फर्कने क्रममा रहेको छ। मोटरसाइकल तथा स्कुटरको माग उल्लेख्य रहेको व्यवसायीहरुको भनाइ छ।
नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका मोटरसाइकल उपलब्ध रहेका छन्। चैत ११ मा लकडाउन भएदेखि जेठसम्म मोटरसाइकल बिक्री ठप्प थियो। असार र साउनमा मोटरसाइकल बिक्री राम्रो भएपनि भदौ ३ देखि सरकारले उपत्यकालागायत देशमा अधिकांश स्थानमा निषेधाज्ञा जारी गरेको थियो। ३ साताको निषेधाज्ञामा पनि सवारी बिक्री ठप्पप्रायः थियो। निषेधाज्ञा हटेसँगै दुईपांग्रे सवारीको बिक्री भने बढ्न थालेको हो।
मोटरसाइकल तथा स्कुट बिक्री हुन थालेको र चाडपर्व सुरु हुन लागेकाले विभिन्न मोटरसाइकल बिक्रेता कम्पनीहरुले ग्राहक केन्द्रित योजना सर्वाजनिक गरिरहेका छन्। अहिलेसम्म बजाज, यामाहा, टिभिएस, होन्डा, हिरो, सुजुकी लगायत कम्पनीले स्किम घोषणा गरेका छन्।
कम्पनीहरुले घोषणा गरेको अफर योजनामा सबैभन्दा बढी नगद छुट सुजुकी र बजाजले सबैभन्दा धेरै नगद छुटको घोषणा गरेका छन्। त्यस्तै सबैभन्दा कम नगद छुट दिनेमा होन्डा रहेको छ। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता भिजी सुजुकीले आफ्ना उत्पादनमा १२ हजारसम्म नगद छुट दिने जनाएको छ।
त्यस्तै बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले मोटरसाइकलका खरिदमा १० हजार नगद छुटको स्किम ल्याएको छ। बजाजले ग्राहकलाई आफ्नो आवश्यकताअनुसारको शून्य प्रतिशत ब्याजदर, २० प्रतिशत डाउन पेमेन्टलगायत अफर समेत घोषणा गरेको छ।
त्यसैगरी टिभिएसको नेपालका लागि अधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नगद ८ हजार रुपैयाँ छुटको अफर ल्याएको छ। साथै, कम्पनीले शून्य प्रतिशत ब्याजमा मोटरसाइकल खरिद गर्न सक्ने योजना समेत ल्याएको छ। कम्पनीले एक्सचेन्जमा पनि बोनसको अफर समेत ल्याएको छ।
यामाहाको आधिकाकिर बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले पनि नयाँ मोटरसाइकल किन्नेका लागि ८ हजार रुपैयाँ छुट दिने उल्लेख गरेको छ। कम्पनीले एक्सचेन्जमार्फत् मोटरसाइकल किन्दा पुरानो मोटरसाइकलको मूल्यांकनमा थप १५ हजार रुपैयाँ दिने जनाएको छ।
हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता एनजिएम हिरोले मोटरसाइकल तथा स्कुटरमा ५ हजार रुपैयाँ नगद छुटको स्किम सार्वजनिक गरेको छ। कम्पनीको अफरमा स्क्र्याच कार्ड मार्फत ५ हजारदेखि १ लाखसम्म नगदर सवारी खरिदकर्ताले जित्न सक्नेछन्।
नगद छुटमा सबैभन्दा कम आकर्षक अफर होन्डाले ल्याएको छ। होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले ४ हजार रुपैयाँ छुट दिने अफर ल्याएको छ। कम्पनीले स्क्र्याच कार्ड मार्फत उक्त छुट प्रदान गर्ने जनाएको छ। स्क्र्याच कार्ड मार्फत ग्राहकले ४ हजारदेखि १ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्।
योसँगै अन्य मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरुले पनि विभिन्न अफरहरु ल्याएका छन्। उपभोक्तालाई आफ्नो सवारी किनाउन बिक्रेता कम्पनीहरुले आकर्षित गर्न अफरहरु ल्याउने गरेका हुन्। हरेक वर्ष सवारी बिक्रेता कम्पनीहरुले दसैंतिहार, नयाँ वर्षलगायत अवसरमा अफरहरु ल्याउने गरेका छन्।
कोरोना भाइरसका कारण सृजित समस्याले अटोमोबाइल व्यवसायसमेत थलिएको अवस्थामा दसैंतिहारको समयमा सवारी बिक्रीले लय लिने अपेक्षा व्यवसायीहरुले राखेका छन्। सोहीअनुसार पछिल्ला दिनहरुमा मोटरसाइकल तथा स्कुटरको बिक्री बढेको व्यवसायीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।