एजेन्सी–कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले आज बिहान अपडेट गरेको तथ्यांकअनुसार विश्वभर मृत्यु हुनेहरुको संख्या १० लाख ५ सय ५५ पुगेको हो।
विश्वको कूल मृत्युमध्ये आधाजति अमेरिका, भारत र ब्राजिलमा छ। सबैभन्दा धेरै अमेरिकामा २ लाख ५ हजार ३१ जनाको मृत्यु भएको छ भने ब्राजिलमा १ लाख ४२ हजार ५८, भारतमा ९५ हजार ५ सय ४२, मेक्सिकोमा ७६ हजार ४ सय ३०, बेलायतमा ४२ हजार ९०, इटालीमा ३५ हजार ८ सय ५१ र पेरुमा ३२ हजार २ सय ६२ जनाको मृत्यु भएको छ।
यस्तै, स्पेनमा ३१ हजार ४ सय ११ र इरानमा २५ हजार ७ सय ७९ जनाको मृत्यु भएको तथ्यांक छ।
विशेषज्ञहरुले मृतकको संख्या योभन्दा अझै धेरै हुनसक्ने चेतावनी दिएका छन्। चीनको वुहानमा सुरु भएको कोरोना भाइरस संक्रमणको महामारीले १० महिनामै १० लाख मानिसको ज्यान लिएको हो।
कोरोना भाइरसको महामारी विश्वका १८८ देशमा फैलिइसकेको छ भने यसबाट ३ करोड ३२ लाख ७३ हजार ७ सय २० जना संक्रमित भएका छन्। यसलाई नियन्त्रण गर्न अपनाइएका लकडाउन र अन्य उपायका कारण विश्वभरको अर्थतन्त्र कमजोर भएको छ। कोरोना भाइरसविरुद्धको खोपका लागि विश्वका धेरै मुलुक प्रयासरत छन्। खोप प्रभावकारी रुपमा आउनुपूर्व २० लाख मानिसको ज्यान जानसक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।