काठमाडौं- सनराइज बैंकले बाँकेको खजुरामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। बैंकिङ्ग सेवा नपुगेका स्थानहरुमा सेवा लैजाने उद्देश्यका साथ खजुरा गाउँपालिका–२, सीतापुरमा ५०औं शाखारहित सेवाको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ।
शुक्रबार खजुरा-२ का कार्यवाहक वडाध्यक्ष नन्दलाल गुरतालको उपस्थितिमा शाखारहित सेवाको उद्घाटन भएको हो। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गुरतालले बैंकको शाखारहित सेवा प्रतिनिधि सुजाता खरेललाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरी उद्घाटन गरेका थिए।
कार्यक्रममा बैंकका प्रदेश ५ प्रमुख सुनिल मण्डल र बैंकका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो। पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ।
यो सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ।
हालसम्म बैंकले १३४ वटा शाखा, ५० वटा शाखारहित बैंकिङ सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।