काठमाडौं- दराज सहयात्री कार्यक्रममा ८ हजारभन्दा बढी साना तथा मध्यम आकारका उद्यमी (एसएमई)हरू सहभागी भएका छन्। एसएमईको समर्थन गर्दै सुरू गरिएको यस कार्यक्रममा सहभागी भएकामध्ये २ हजार १ सय उद्यमीहरूले दराजमार्फत् व्यवसाय सञ्चालन गर्न सफल भएको र अरू सञ्चालनमा आउने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।
उक्त कार्यक्रमअन्तर्गत विक्रेताहरूलाई ४ महिनाको कमिसन शुल्क हटाई देशभरका ७ लाखभन्दा बढी ग्राहकहरूमाझ निःशुल्क पहुँच दराजले प्रदान गरेको थियो। त्यसैगरी करिब ५५ लाख रूपैयाँ आर्थिक सहयोग समेत गरेको कम्पनीले जनाएको छ।
यसबाहेक, दराजले एसएमईहरुलाई निःशुल्क व्यवसाय परामर्श र दराज युनिभर्सिटीमार्फत् इकमर्स शिक्षा र प्रशिक्षण प्रदान गरेको थियो।
‘सहयात्रीमार्फत् हामीले जति पनि सहयोग पुर्याउन सकेका छौं, त्यसप्रति हामी खुसी छौं तर अझै धेरै कुराहरु गर्न बाँकी छन्। एसएमई क्षेत्रलाई अझै बढी सहयोगको आवश्यकता छ र हामी साना व्यवसायहरुको सशक्तिकरणको कार्य जारी राख्नेछौं,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने।
दराजमा हालसम्म ६ हजारभन्दा बढी बिक्रेताहरूको समुदाय रहेको छ भने ५ लाखभन्दा बढी उत्पादनहरू उपलब्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।