काठमाडौं- नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ। डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकताअनुसार एक लाख रुपैयाँसम्म मोबाइलबाट तुरुन्तै ऋण प्राप्त गर्न सक्नेछन्।
यो एक नवीनतम डिजिटल सुविधा हो। यो सेवा बैंकले एफवन सफ्टको सहकार्यमा ल्याएको हो। नबिल स्मार्ट बैंकको विश्लेषणात्मक प्रविधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत् निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा ऋण उपलब्ध गराइने बैंकले जनाएको छ। यो सुविधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्नेछ। यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहनेछ।
ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माटबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्नेछन्। बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्ने जनाएको छ। ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक पर्नेछैन।
यस योजनाअन्तर्गत एक लाख रुपैयाँसम्म ऋणको सुविधा लिन सकिनेछ। बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिनाधितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्छ।
उनले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत् यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरवको विषय हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।