काठमाडौं- नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमा आइतबार धेरै पटक समस्या देखिएपछि कारोबार नै प्रभावित भएको छ। नेप्सेको टिएमएसमा समस्या देखिँदा लगानीकर्ताले सजिल्लै अर्डर गर्न पाएका थिएनन्। केही समयमै सहज हुने र केही समयपछि समस्या देखिएको थियो। यसरी पटक पटक समस्या देखिँदा कारोबार नै प्रभावित भएको हो।
नेपाल स्टक एक्सचेन्जका चन्द्र सिंह साउदले गत बिहीबारदेखि अनलाइन प्रणालीमा कुनै पनि समस्या नआउने भन्दै नेपाल सरकार समक्ष प्रतिवद्धता व्यक्त गरेका थिए। तर प्रणालीमा देखिएको समस्या हट्नुको साट्टो पटक पटक समस्या आउदा लगानीकर्ता आजित भए। गएका दिनमा केहि समय रोकिने र नेप्सेले समय थप गर्ने अवस्था थियो। तर आज भने पटक पटक समस्या देखिएको हो।
बजार सुधार हुँदा सामान्य अवस्थामा पनि तीन अर्ब रुपैयाँभन्दा धेरै कारोबार हुने गरेको छ। साताको पहिलो दिन दुई अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ। नेप्से सूचक तीन अंकले सुधार भएर १५७५.१८ अंकमा रोकिएको छ। १८८ वटा कम्पनीको कारोबार हुँदा ७० वटाको शेयर मूल्यमा सुधार देखिए पनि ९० वटाको घटेको छ।
आधारम मूल्यभन्दा ३० रुपैयाँ कम खानीखोला हाइड्रोपावरको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। बाणिज्य बैंक विकास बैंक र फाइनान्सको सूचकमा सुधार देखिएको छ भने बाँकी सुचक ओरालो झरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।