न्युयोर्क– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायुजन्य विपत्तिको सामना गर्न अन्तर्राष्ट्रिय समुदायले ‘राहत, पुनःस्थापना, पुनर्निर्माण’सँगै ‘जिम्मेवारी, क्षतिपूर्ति र उत्थानशीलता’लाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले पहिलो तीन कुरा विपत्तिपछि तत्काल आवश्यक पर्ने र पछिल्ला तीन कुरा भविष्यमा विपत्ति स्थायी अवस्था नबनोस् भनेर आवश्यक पर्ने बताए।
प्रधानमन्त्री शाहले जलवायुजन्य विपत्तिले गरिब देशको पूर्वाधार नष्ट गर्दा त्यसको जवाफ अर्को ठूलो ऋण वा छरिएका साना अनुदान मात्र हुन नसक्ने बताए।
नेपालले पर्याप्त अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उनको भनाइ छ।
उनले जलवायु वित्तका लागि कमजोर मुलुकहरूले लामो समयसम्म प्रमाण र कागजात जुटाउनुपर्ने अवस्थाप्रति असन्तुष्टि जनाए। क्षति तथा नोक्सानी कोषलगायत अन्तर्राष्ट्रिय वित्तीय संयन्त्रहरू अझै अपर्याप्त रहेको उनले बताए।
प्रधानमन्त्री शाहले जलवायु वित्तलाई छिटो, सहज र प्रभावित देशको वास्तविक आवश्यकतामा आधारित बनाउनुपर्ने माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।