न्युयोर्क– प्रधानमन्त्री वालेन्द्र शाहले साना तथा गरिब देशहरूको आवाज अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सुनिनुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसंघको स्थापना सार्वभौमसत्ता, अन्तर्राष्ट्रिय कानुन र मानव मर्यादाको सम्मान सुनिश्चित गर्न भएको स्मरण गरे।
‘अहिले अन्तर्राष्ट्रिय प्रणाली दबाबमा रहेको र कतिपय अवस्थामा सैन्य तथा आर्थिक शक्तिले कसको आवाज सुनिने भन्ने निर्धारण गर्ने अवस्था छ। नेपाल न्यायपूर्ण विश्व आर्थिक व्यवस्था आवश्यक छ भन्ने पक्षमा छ,’ उनले भने।
उनले बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै साना र गरिब देशहरूको उपस्थिति महसुस हुने संयुक्त राष्ट्रसंघ आवश्यक रहेको बताए।
उनका अनुसार जलवायु संकट, असमानता, द्वन्द्व र विकासका चुनौती समाधान गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ।
प्रधानमन्त्री शाहले कमजोर मुलुकले शक्तिशाली मुलुकले गरेका निर्णयलाई चुपचाप स्वीकार गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने धारणा राखे। न्यायपूर्ण परिणामका लागि साना मुलुकहरूलाई पनि निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता आवश्यक रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।