काठमाडौं- सिभिल बैंकका उच्च पदस्थ व्यक्तिले मर्जरको विषयमा केहि सञ्चार माध्यममा अभिव्यक्ति दिएपछि नेपाल स्टक एक्सचेन्जले स्पष्टीकरण माग गरेको छ। केही दिन अगाडि सिभिल बैंक र हिमालयन बैंकबीचमा मर्जरका विषयमा अपुष्ट समाचार आएपछि आइतबार सिभिल बैंकको सेयरमा सर्किट लागेको छ।
धेरै नै तल्लो बिन्दुमा रहेको सिभिल बैंकको सेयरमा प्रभावित हुने खालका समाचार आएपछि नेप्सेले सम्बन्धित बैंकलाई नै स्पष्टीकरण माग गरेको हो। तुलनात्मक रुपमा बैंकको वित्तीय विवरण त्यति धेरै राम्रो छैन। त्यसैले गर्दा दोस्रो बजारमा पनि बैंकको सेयर मूल्य सबैभन्दा तल छ।
तल्लो बिन्दुमा रहेको बैंकको शेयर मूल्यलाई उक्त समाचारले प्रभावित पारे पछि नेप्सेमा लगानीकर्ताले उजुरी दिएका थिए। नेप्सेले उजुरी पछि बैंकलाई नै आधिकारिक धारणा सार्वजनिक गर्न निर्देशन दिएको छ।
नेप्सेले सोमबार बजार खुल्नु अगाडि नै आधिकारिक धारणा पेस गर्न समेत निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।