काठमाडौं- सौर्य एयरलाइन्सले लकडाउनकै बेला एक जहाज थपेको छ। योसहित सौर्यसँग अब तीन वटा जहाज भएका छन्। यी तीन जहाजबाट ५ गन्तव्यमा उडान भर्नका लागि सौर्यले सबै तयारी पूरा गरेको जानकारी दिएको छ।
असोजको दोस्रो साताबाट ट्रंक रुटका ५ गन्तव्यमा सेवा प्रदान गर्न लागिएको एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जानकारी दिए।
सौर्य एयरसँग यसअघि दुईवटा बम्बार्डियर कम्पनीका सिआरजे २०० जेट इन्जिनका जहाज थिए। लकडाउनको अवधिमा एयरलाइन्सले अर्को ५० सिटर त्यस्तै जहाज भित्र्याएको हो।
'असोजको दोस्रो साताबाट हामीले सेवा दिन सुरु गर्नेछौं,' अध्यक्ष पोख्रेलले भने, 'केही समय बन्द रहे पनि यात्रु र ट्राभल एजेन्सीको विश्वासका कारण हामी पुनः नयाँ व्यवस्थाका साथ आएका छौं। साथै चाँडै नै थप चार वटा एटिआर विमान भित्र्याएर आफ्नो बजार विस्तारको लागि अझ आक्रामक रुपमा आउनेछौं।'
उनका अनुसार अहिले एयरलाइन्सको दैनिक गन्तव्य झापाको चन्द्रगढी एउटा, विराटनगर तीन वटा, भैरहवा दुई वटा, नेपालगञ्ज दुई वटा र धनगढीमा दुई वटा वटा गरी दैनिक दश वटा उडान हुनेछन्।
एयरलाइन्सले नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गरिने बताएको छ। 'हामीले हाम्रा यात्रुको सेवा तथा स्वास्थ्यलाई पूर्ण प्राथमिकतामा राखेका छौं,' पोख्रेलले भने, ' पूर्ण रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर यात्रुलाई सेवा दिनेछौं।'
सौर्य एयरलाइन्सले डेढ वर्षअघि भारतको कुवेर समूहलाई नयाँ साझेदार भित्र्याएर सेवा सञ्चालन गरिरहेको छ। कुवेरका विकास मालुले भारत र दुवईमा बिभिन्न क्षेत्रमा लगानी गरेका छन्। यो समूहले दश वटा नयाँ जहाज खरिद गरी आक्रामक रुपमा कम्पनीलाई अगाडि लैजाने लक्ष्य लिएर सौर्य एयरलाइन्समा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।