काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा सडक आन्दोलन गर्न नदिन गृह मन्त्रालयलाई कडा निर्देशन दिएको छ।
गृहमन्त्री रामबहादुर थापा 'बादल' र गृहसचिव महेश्वर न्यौपानेमार्फत् घिसिङको पक्षमा कहीँ कतै आन्दोलन गर्न नदिन सबै जिल्ला प्रशासन कार्यालयलाई गोप्य सर्कुलर पठाइएको छ। प्रधानमन्त्रीनिकट स्रोतले नेपाल लाइभलाई दिएको जानकारीअनुसार घिसिङको पक्षमा आन्दोलन हुन सक्ने भएकाले त्यसलाई कडा कारबाहीमार्फत् नियन्त्रणमा लिन भनिएको छ।
'कुलमान घिसिङको पक्षमा सडकमा मानिसहरूले हुलहुज्जत गर्ने देखिएको छ, यसले कोरोना संक्रमण बढाउने र जोखिम बढ्न सक्ने देखिएकाले त्यसलाई नियन्त्रणमा लिन भनिएको हो,' प्रधानमन्त्री निकट स्रोतले भन्यो।
प्रधानमन्त्रीबाटै निर्देशन पाएपछि गृहले सबै प्रमुख जिल्ला अधिकारीहरूलाई सजग रहन र घिसिङको पक्षमा आन्दोलन गर्न नदिन निर्देशन दिइसकेको छ। गृहको निर्देशनपछि प्रहरीले पनि धरपकड गर्न थालेको छ।
घिसिङको कार्यकाल भदौ २८ गते सकिएको थियो। उनको कार्यकाल थपिने अपेक्षा भए पनि सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन। घिसिङको कार्यकाल नथपिएसँगै काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा उनको समर्थनमा आन्दोलन हुन थालेको छ।
घिसिङकै समर्थनमा विहीबार हन्ड्रेड ग्रुपका अभियन्ता बब्लु गुप्तासहितको टोलीले आन्दोलन गर्न खोज्दा प्रहरीले चरम दमन गरेको थियो। यसको भिडियो सार्वजनिक भएपछि प्रहरीको चर्को आलोचना भइरहेको छ। प्रहरीले गुप्तामाथि कुटपिट गर्ने प्रहरीमाथि छानबिन अघि बढाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।