काठमाडौं–नेपाल बैंकले सञ्चालक समितिमा सरकारका प्रतिनिधि घटाउने भएको छ। सरकारका तर्फबाट तीन जना सञ्चालक रहँदै आएकोमा अबदेखि दुई जनामात्रै रहने भएका हुन्।
सरकारका तर्फबाट दुई जनामात्रै प्रतिनिधि रहने भए पछि अब सर्वसाधारणका तर्फबाट तीन जना सञ्चालक रहने छन्। सञ्चालकको प्रतिनिधि परिवर्तन गर्ने भन्दै बैंकले असोज १९ गते विशेष साधारणसभा डाकेको छ।
कोभिड–१९ का कारण बैंकले विशेष साधारणसभा भर्चुअल जुम मिटिङबाटै सञ्चालन गर्ने छ। साधारणसभा प्रयोजनका लागि असोज ८ गते एक दिन बुक क्लोज हुनेछ। असोज ७ गतेसम्म कायम शेयरधनीहरुले उक्त साधारणसभामा भाग लिन पाउने छन्।
नेपाल बैंक सञ्चालक समितिमा अध्यक्ष वासुदेव अधिकारी रहेका छन्। त्यस्तै नेपाल सरकारका तर्फबाट गंगाप्रसाद ज्ञवाली, डा. सावित्री रञ्जित श्रेष्ठ र केदारप्रसाद पनेरु रहेका छन्। तर सर्वसाधारणका तर्फबाट केशवप्रसाद भण्डारीका साथै कर्मचारी सञ्चयकोषका तर्फबाट ओमकृष्ण श्रेष्ठ रहेका छन्।
नेपाल बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयर स्वामित्व छ। बैंकमा कर्मचारी सञ्चयकोषको ३.६४ प्रतिशत शेयर रहेको छ। व्यक्तिगत रुपमा सबैभन्दा धेरै शेयर नुनकरण अग्रवालको १.३५ प्रतिशत शेयर रहेको छ। साथै लाइफ इन्स्योरेन्स कर्पोरेसनको १.१५ प्रतिशत शेयर स्वामित्व रहेको छ। कम्पनीको सर्वसाधारण शेयर भने धेरै संख्या बाँडिएको छ।
हाल कायम ७ जना सञ्चालकमध्ये अध्यक्ष नेपाल सरकारले नै नियुक्ति गरेर पठाउछ। साथै तीन जना पनि सरकारले नै प्रतिनिधि पठाउछ। स्वतन्त्र सञ्चालक पनि सरकारी नियुक्ति लिनेभित्र नै पर्छन्। हाल सञ्चालकमध्ये एक जनाले मात्रै विशुद्ध रुपमा सर्वसाधारणको प्रतिनिधित्व गर्छन्। त्यसैले अवको संसोधनपछि सर्वसाधारणका तर्फबाट कम्तिमा पनि दुई जनाले प्रतिनिधित्व गर्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।