चितवन–अधिकांश समय निमित्त पदाधिकारीको भरमा रहेको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको दुई महिना पुग्नै लाग्दा पनि खुल्न सकेको छैन। पदाधिकारी अभावमा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ।
विश्वविद्यालयको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको नेतृत्वमा अस्थायी र करार कर्मचारीहरु सहितले साउन १२ गते तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय कार्यालयसँगै कृषि र भेटेरिनरी संकायमा पनि तालाबन्दी गरेका छन्। सङ्गठनका अध्यक्ष अचल शाक्यले त्यहाँ कार्यरत २४ करार कर्मचारीलाई स्थायी र ८५ ज्यालादारी कर्मचारीलाई करारसहितका विभिन्न माग राख्दै तालाबन्दी गरिएको बताए।
हाल उपकुलपतिको जिम्मेवारी पाएकी डा शारदा थपलियाले आफ्नो अधिकारबाहिर गएर अन्य सबै काम गरेको भए पनि आफ्ना माग सम्बोधन गर्ने विषयमा अनुदार भएकै कारण तालाबन्दी गर्नुपरेको शाक्यको भनाइ छ।
थपलियाले अहिले तत्काल संगठनको माग सम्बोधन गर्न नसकिने जानकारी दिइन्। उनले भनिन्, ‘नेपाल सरकारको नीति नियमले उहाँहरुले भने जस्तो गरी माग सम्बोधन गर्न सकिँदैन, यस विषयमा वार्ताका लागि अनुसन्धान निर्देशक डा नवराज देवकोटाको संयोजकत्वमा समिति बनाइएको छ तर उहाँहरू वार्ता गर्न आउनुुभएको छैन।’
सो विश्वविद्यालयमा एक वर्षअघि दैनिक कामकाज गर्ने गरी जिम्मेवारी पाएकी थपलियाले नै उपकुलपतिको काम गर्दै आएकी छन्। विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष र रजिष्ट्रार पद रिक्त छ। थपलियाले कृषि र भेटेरिनरी सङ्कायमा निमित्त डीन नियुक्त गरेकी छन्। अधिकांश पदाधिकारी निमित्त भएकाले विश्वविद्यालय पछिल्लो समय अस्तव्यस्त बनेको हो । रजिष्ट्रार नहुँदा विश्वविद्यालयसभा अझै हुन सकेको छैन।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।