काठमाडौं- गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को स्वास्थ्य समितिको दोश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सेप्टेम्बर १८, १९, २० तारिख २०२० मा हुने भएको छ।
आइतबार सम्पन्न स्वास्थ्य समितिको भर्चुअल मिटिङले सम्मेलन आगामी सेप्टेम्बर १८ देखि २० सम्म गर्ने निर्णय गरेको हो। सम्मेलन भर्चुअल हुने समितिका अध्यक्ष डा संजीव सापकोटाले जानकारी दिए।
गत वर्षको सेप्टेम्बर २०, २१ र २२, २०१९ मा अमेरिकाको एटालान्टामा समितिले प्रथम नेपाली विश्व स्वास्थ्य सम्लेलन आयोजना गरेको थियो। समिति अध्यक्ष सापकोटाले प्रथम सम्मेलन ऐतिहासिक रहेको बताउँदै त्यसलाई निरन्तरता दिन आबश्यक ठानेर दोस्रो सम्मेलनको तय गरिएको बताए।
बैठकले कमिटीमा केही सदस्यहरुलाई समेत थपेको छ। जसमा कतारबाट डा नितेश अर्याल ,पोल्याण्डबाट डा बोध सुबेदी, क्यानाडाबाट डा सरोज निरौला, अमेरिकाबाट स्नेहा क्षेत्रीलाई थपेको उल्लेख गरिएको छ।
बैठकले कोभिड- १९ ले नेपालमा पार्दै गएको बढ्दो असरलगायतका विषयहरुमा प्रादेशिक एवं केन्द्रीय सरकारसँग अन्तरक्रिया कार्यक्रम, डाक्टर डाक्टरहरु बीचमा अनुभव आदान प्रदान सेमिनार, नर्स नर्सहरु बीचमा अनुभव आदान प्रदान, बालबालिकाहरूबीच कोभिड- १९ को विश्वमहामारीको बारेमा स्वयंमा अन्तरक्रिया र विश्व धुम्रपानरहित दिवसको उपलक्ष्यमा धुम्रपानको लत छुटाउने कार्यक्रम गर्ने निर्णय गरेको छ।
बैठकमा कोभिड- १९ को विश्व महामारीले नेपालीहरुमा पुर्याएको पछिल्लो असर बारेमा पनि चर्चा भएको थियो भने अघिल्ला बैठकहरुको काम र प्रगतिको बारेमा पनि छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।