काठमाडौं- लगानीकर्ताको ध्यान बैंकको सेयरमा पर्दा बिहीबार एकैदिन सेयर बजारमा ३०.७८ अंकको सुधार भएको छ। गएका दिनमा बिमा कम्पनी, जलविद्युतको सेयरमा लगानीकर्ताको आकर्षण थियो। बिमा र अन्य कम्पनीको सेयरमा सुधार देखिएसँगै बिहीबार बैंकिङ समूहको सेयरमा पनि सुधार देखिएको हो। नेप्सेमा ८० प्रतिशतभन्दा माथि हिस्सा रहेको बैंकहरूको सूचक २८ अंकले सुधार हुँदा समग्र सेयर बजारमै हरियाली देखिएको हो।
लगानीकर्ताले गएका दिनमा सुधार भएका बिमा कम्पनी तथा लघुवित्तको सेयर बिक्री गरेर बैंकको सेयर उठाउन थालेका हुन्। अधिकांश वाणिज्य बैंक तथा विकास बैंकको सेयर मूल्य धेरै नै तल्लो बिन्दुमा छ। यसले गर्दा सस्तो सेयर उठाउने होडबाजीमा नेप्से सूचक नै २ प्रतिशतले बढेर १५७२ अंकमा रोकिएको छ।
लगानीकर्ताले बैंकको सेयर उठाउन थालेपछि सेयर बजार नै धेरै अंकले सुधार देखिएको सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले बताए। उनले भने, 'हिजोका दिनमा बिमा कम्पनीहरु ३०/४० प्रतिशतले सुधार भए त्यस्तै हाइड्रोपावर पनि ३० प्रतिशतभन्दा माथिले सुधार भए। यस सँगै बैंकको सुधार हुने क्रममा नेप्से सूचक नै सुधार देखिएको हो।'
सेयर बजार र बैंकको ब्याजदरबीचमा विपरीत सम्बन्ध हुने भएकाले पछिल्लो समय सस्तो ब्याजदरले गर्दा सेयर बजार सुधार भैरहेको अर्याल बताउछन्। बैंकको ब्याजदर कम हुँदा सेयर बजार बढ्ने र बैंकको ब्याजदर धेरै हुँदा सेयर बजार घट्ने गरेको छ। उनले भने, 'बैंकले दिने निक्षेप तथा मुद्दति निक्षेपको ब्याजदर धेरै नै तल झरे पछि लगानीकर्ताले बैकल्पिक लगानीको रुपमा सेयर बजारलाई रोजेका हुन्।'
बिहीबार ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै ३० वटा भन्दा धेरै कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले सुधार भएको छ। माथिल्लो तामाकोशीको सेयरमा बिहीबार सकारात्मक सर्किट लागेको छ। निर्जीवन बिमा कम्पनीको सेयर बाहेक सम्पूर्ण सूचक सुधार देखिएका छन्। निर्जीवन बिमा कम्पनीको नाफा बुक गरेर अन्य कम्पनीमा लगानी गर्ने क्रममा सेयर बजार सुधार देखिए पनि निर्जीवन बिमा कम्पनीको सुचकमा भने गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।