काठमाडौं–नेपाल राष्ट्र बैंकले एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत कर्जा लिने ऋणीको व्याजदर यही असोज मसान्तसम्ममा तय गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले भदौ २३ गते बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७६ को संसोधन, परिमार्जन तथा थप व्यवस्था गर्ने क्रममा एक वर्षभन्दा बढी अवधिको व्यक्तिगत कर्जा लिने ऋणीको व्याजदर स्थिर गर्नुपर्ने व्यवस्था गरेको थियो।
सोही निर्देशनमा त्यसअघि एक वर्षभन्दा बढी अवधिको कर्जा लिने ऋणीहरुको पनि यस अगाडिको सर्त परिवर्तन गर्न निर्देशन दिएको थियो। सोही निर्देशन पालना गराउने क्रममा राष्ट्र बैंकले असोज मसान्तभित्र घर कर्जा, गाडी कर्जालगायत आवधिक कर्जा लिने ऋणीको व्याजदर स्थिर गर्न निर्देशन दिएको हो। उक्त व्यवस्थामा ग्राहकको अनुरोधमा स्थिर व्याजदर कायम हुने गरि कर्जाका सर्त परिवर्तन गर्नु पर्ने व्यवस्था छ। त्यसैले गर्दा ऋणीहरु आफैं बैंकमा गएर आफ्नो कर्जाको व्याजदर स्थिर गर्न सक्ने छन्।
राष्ट्र बैंकले पहिलो पटकका लागि असोज मसान्तभित्र निर्धारण तथा प्रकाशन गर्न सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गरेको हो। स्थिर व्याजदरका लागि बैंक तथा वित्तीय संस्थाले सार्वजनिक रुपमा व्याजदर प्रकाशन गर्नु पर्नेछ। पहिलो पटकका लागि असोज मसान्तसम्म तोकिएसँगै त्यसभन्दा पछि बैंकहरुले त्रैमासिक रुपमा परिवर्तित व्याजदर सार्वजनिक गर्नु पर्ने हुन्छ। यसरी त्रैमासिक रुपमा परिवर्तन हुने व्याजदर एक पटक कर्जा लिइसकेका ऋणीका लागि लागू हुने छैन। यस्तो व्याजदर नयाँ ऋणीहरुका लागिमात्रै लागू हुने राष्ट्र बैंकले जनाएको छ।
बैंकहरुले पछिल्लो समय सार्वजनिक गरेको घर तथा गाडी कर्जाको व्याजदर। तर बैंकहरुले स्थिर व्याजदर निर्धारण गर्दा यसलाई परिवर्तन गर्न सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।