काठमाडौं–विदेशमा रहेका नेपालीले नेपालीलाई नै एसिड प्रहार गरे नेपालकै कानुन अनुसार नै कारबाही हुनुपर्ने माग गरिएको छ।
एसिड तथा यस्तै प्रकारका रासायनिक पदार्थहरुको नियमन गर्न आवश्यक पर्ने कानुनी तथा संस्थागत संरचना निर्माणका बारेमा अध्ययन गर्न गठित नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाको समितिले उक्त सुझाव दिएको हो।
यस किसिमको अपराध विदेशमा नेपाली नागरिकविरुद्ध नेपाली नागरिकबाटै भएमा नेपालको अदालतले क्षेत्राधिकार ग्रहण गरी नेपालको कानुनअनुसार कारबाही गर्नुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै एसिड पीडितको सबै उपचार खर्च, अध्ययन खर्च सरकारले बेहोर्नुपर्ने सुझाव पनि दिइएको छ।
तेजाब तथा तेजाबजन्य रासायनिक पदार्थको पैठारी तथा उत्पादनदेखि प्रयोग, विसर्जनसम्मका सबै तहमा नियमन गर्ने सम्बन्धमा कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने पनि प्रतिवेदनमा औंल्याइएको छ।
एसिड आक्रमणको मुद्दा फिर्ता, सजाय छुट, सजाय माफी वा मिनाहा नहुने कानूनी व्यवस्था गर्न सुझाव दिइएको छ।
पीडितको स्वास्थ्य उपचारको व्यवस्थालाई सहज र सुलभ बनाउन सुविधा सम्पन्न अस्पतालहरूको व्यवस्था गर्नु पर्ने, पीडित व्यक्तिलाई योग्यता अनुसारको शिक्षा, रोजगार र व्यवसायका लागि आवश्यक तालिम, प्रशिक्षण तथा व्यवसायमा लगानी गर्नका लागि सहुलियतपूर्ण ऋणको आवश्यक व्यवस्थापन नेपाल सरकारले गर्नुपर्ने सुझाव दिइएको छ।
त्यसैगरी एमनेस्टी इन्टरनेसनल नेपाल, बर्न सर्भाईभर्स नेपाल, महिला कानुन तथा विकास मञ्च, न्याय तथा अधिकार संस्था नेपाल (जुरी नेपाल), कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) र ओरेक नेपालसमेत छ वटा गैरसरकारी संस्थाहरूले पनि एसिड सम्बन्धीकडा कानून निमार्ण गरिनुपर्ने भन्दै कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेलाई पत्र बुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।