काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा सार्क राष्ट्रका अर्थमन्त्रीहरूको अनौपचारिक बैठक सकिएको छ। बैठकमा मन्त्री ज्ञवालीले कोभिड-१९ को कारणले विश्व अर्थतन्त्रसँगै दक्षिण एशियाको अर्थतन्त्रमा परेको असर र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मन्त्री ज्ञवालीले बैठकको अध्यक्षता गरेका थिए।
नेपाल तथा दक्षिण एशियाली अर्थतन्त्रको पछिल्लो अवस्थाको चर्चा गर्दै उनले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा सबै सार्क राष्ट्रहरु क्रियाशील रहेको वर्तमान समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने बताए।
यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउदै आर्थिक पुनरोत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनुपर्ने र उनीहरुको मनोसामाजिक समस्यासमेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
बैठकमा सार्कका महासचिव इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष सिसिन चेनले उद्घाटन मन्तव्य राखेका थिए भने 'कोभिड-१९ र दक्षिण एशियाली अर्थतन्त्र' विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यासायुक्ती सावादाले प्रस्तुति दिएका थिए।
बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरू र प्रतिनिधीमण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।