काठमाडौं- वाणिज्य बैंकको सूचक बाहेक सम्पूर्ण सूचक सुधार भएका छन्। बुधबार वाणिज्य बैंकको सूचक ४.५८ अंकले ओरालो झरे पनि नेप्से सूचक भने ५.३७ अंकले सुधार भएको छ। शेयर बजार सुधार हुने क्रममा १५४१.४० अंकमा रोकिएको छ।
सूचकमा सुधार देखिए पनि कारोबार रकम भने एक अर्ब ८० करोड रुपैयाँको मात्रै भएको छ। १९४ वटा कम्पनीको शेयर कारोबार हुँदा ९७ वटाको शेयर मूल्य बढेको छ भने ५५ वटाको शेयर मूल्यमा गिरावट आएको छ। तीनवटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ भने २३ वटाको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। वरुण घलेम्दी र सिनर्जी पावरको १० प्रतिशतले बढेको छ।
बुधबार पनि केही करेक्सन हुने अनुमान गरिए पनि अन्तिम समयमा बजार सुधार भएको छ। नाफा बुक गर्ने तथा बजार सुधार हुन्छ भन्ने अपेक्षामा शेयर किन्नेले गर्दा बजार सुधार भइरहेको छ। बजार बढ्दो क्रममा भएकाले हाल दोस्रो बजारमा सक्रिय लगानीकर्ता धेरै छन्। केही करेक्सन हुँदा पनि ट्रेडर हाबी हुँदा बजार धेरै अंकले करेक्सन हुन सकेन।
हाल लगानीकर्ताहरूसँग पर्याप्त तरलता छ। अन्य क्षेत्रमा लगानी गर्ने अवस्था छैन। अन्य काम नभएका तथा रोजागार गुमेका लगानीकर्ताको ध्यान शेयरमा केन्द्रित छ। यसले गर्दा बजार लगातार सुधार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।