काठमाडौं- खेल्न भन्दा गाह्रो रहेछ खेलिरहन। जित्नभन्दा जितिरहन मुस्किल भएजस्तै। मेहनत भन्दा ज्यादा चाहिने धैर्यता। रहरको खेल लक्ष्य भइसक्दा पनि लामो समय साथ पाउन कठिन। खेलमा अडिसकेको मन खेलबाट त हट्दैन नै, तर परिस्थिति यस्तो आइदिन्छन् जसले खेलमा लागिरहन बाधा भइरहन्छ। 
कोरोना माहामारीमा अहिलेको समय कसैका लागि सहज छैन। खेलाडी त मैदान नपुगेको ६ महिना भइसक्यो। धेरै विषय सहज रुपमा बढाउने प्रयास भइरहे पनि खेलकुदबारे कुनै योजना छैन। अभ्यासमा जाने र सुरक्षित रुपमा खेल गतिविधि गर्नेमा खेलसम्बद्धको स्पष्ट नीति देखिँदैन। सरकारको निर्देशनको पालना गरिरहेका खेल संघहरु खेलाडीको अवस्थाबारे जानकार जस्ता देखिँदैनन्। 
खेलाडीमा पुरानो लय हराउने डर र मैदान जान नपाएको चिन्ता उसैगरी बढिरहेको छ। यो समय कसरी कट्छ र कसरी उसैगरी खेल्न पाइन्छ कसैलाई थाहा छैन। यही अन्योलमा छिन् जुडो खेलाडी पुनम श्रेष्ठ पनि। 
लकडाउन र पछिल्लो निषेधाज्ञामा उनको समय घरमा नै अलि अलि शारीरिक अभ्यास गरेर बित्यो। भाइ र ममिसँग कुराकानी साथै केही समय किताबहरु पढिन्। अरु काम त के पो गर्नु। लकडाउन अलि खुकुलो भएको बेला घरबाहिर केही दिन दौडन पनि निस्किइन्। त्यसले शारीरिक अभ्यासमा फरक अनुभवका साथै मन अलि बहलियो। 
घरमा नै सबै मेसो मिलाएर अभ्यास गरिरहन पनि सहज छैन। आफूले गरिरहने सामान्य अभ्यासबाहेक अरु त गर्न मिल्दैन नै। अहिले लामो समय खेलबाहिर बसेर अब खेलमा जाँदा अप्ठ्यारो हुन्छ, खेल नै बिग्रिसक्यो जस्तो महसुस गरिरहेकी छिन् उनी। उनलाई अब कोरोना माहामारी सकिएर अभ्यासमा जाँदा पनि धेरै गाह्रो हुन्छ जस्तो लाग्छ। खेलिरहने बानि अहिले त यत्रो महिना खेलबिना बस्नु पर्दा त्यो स्वभाविक पनि हो। 
.JPG)
यो तत्काल देखिएका अप्ठ्याराहरु भए। यी भन्दा कठिन छन् भविष्यलाई सोचेर हुने चिन्ता। खेलेर केही नहोला भन्ने डर। आफूअघिका खेलाडीहरु हेर्दा केही भएको पनि त देखिँदेन। जो विदेशिए उनीहरु गए, जो छन् उनीहरु मुस्किलमा नै छन्। 
०००
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्दा पुनम श्रेष्ठलाई लागेको थियो, अब त दुःखका दिन सकिएलान्। खेलमा जानुअघि उनलाई आमाले बारम्बार भनिरहेकी पनि थिइन्- ‘स्वर्ण पदक जित्नुपर्छ, घर बनाउनुपर्छ है छोरी।’ 
अहिले आमाले भनिरहेकी छिन्- ‘कहिलेसम्म खेल्ने हो? खेलेर के गर्ने हो? समयमा नै आफ्नो बाटो सोच्नुपर्छ है।’ 
जुडोमा ७८ किलोमुनिको तौल समूहमा स्वर्ण पदक जितेर पुनमले त्यसअघिको सागमा जितेको कास्य पदक बिर्साएकी मात्र थिइनन्, पुरस्कारमा आएका रकमले घर बनाउने सपना पूरा हुने भयो भनेर खुसी थिइन्। 
साग सकिएपछि प्रधानमन्त्रीले घोषणा गरेको ९ लाख रुपैयाँका साथै अरु विभिन्न पुरस्कार गरेर १३ लाख रुपैयाँ जति पाएको पुनम बताउँछिन्। तर त्यसले उनको घर बनाउने सपना कसरी पूरा हुनु। 
पुनम संघर्षबाट खारिएकी खेलाडी हुन्। सानोदेखि अभाव छिचोलेर हुर्किएकी उनलाई जे गर्छु खेलकुदबाटै गर्छु भन्ने नलागेको पनि होइन। तर अहिले त्यो पूरा हुन सक्ला भन्ने विश्वास मर्दै गइरहेको छ। 
पुनम ३ वर्षको हुँदादेखि बाबाको साथ पाइनन्। आमाले गरिबी छल्न चितवनदेखि काठमाडौंसम्म संघर्ष गरिरहिन्। स्नातक पढिरहँदा दिदी सुरक्षित भविष्यकै लागि दुबई गइन्। यसैले अभाव चिनेकी उनले सागको स्वर्णपछि सम्मानमा पाएको पैसाले बस्ने बासको जोहो गर्ने सपना सजाएकी थिइन्। 
.JPG)
‘दिदीले विदेशमा बसेर मेरा लागि भनेर यत्रो दुःख गर्नुभएको छ। मैले चाहिँ मेरो आफ्नो कर्तव्य पनि गरेर देखाउनुपर्छ भन्ने लागेको थियो’, पुनमले भनिन्, ‘म साग गेम खेलेर घर बनाउँछु ममी भनेको थिएँ। अब सम्मानबाट आएको पैसाले घर बनाउँछु, सपना पूरा हुने भयो’ सागमा स्वर्ण जिते लगत्तै पुनमले भनेकी थिइन्। तर त्यो सपना खेलबाटै पूरा हुन सक्ला भन्नेमा अहिले उनी चिन्तित छिन्। 
‘घर त बनाउन सकेको छैन नि। त्यति पैसाले सम्भव पनि छैन। के गर्ने के नगर्ने सोचमा छु। यत्रो खेलेर पनि आफ्नो बस्ने बाससमेत हुन सकेन भने त नराम्रो लाग्छ। त्यसैले अन्तिम उपाय विदेश जाने नै हो कि जस्तो पनि लाग्छ’ पुनमले भनिन्। 
०००
पुनमले जुडो खेल्न थालेको १४ वर्ष भइसक्यो। यतिका समय उनले खेलबाहेक अर्को केही सोचिनन्। लगातार मेहनत गरिरहेकी छिन्। अब उनका लागि ओलम्पिक खेल्ने सपना बाँकी छ।  
सागमा स्वर्ण जित्दाको जुन उचाइ थियो अब त्योभन्दा माथि जान धेरै मेहनत लाग्नेछ भन्ने पुनमले बुझेकी छिन्। उनी भन्छिन्- ‘त्यो स्वर्णपछि त असाध्यै गर्व महसुस भएको थियो। जताततै अन्तर्वार्ता र बधाईहरु आयो। त्यसभन्दा पहिले पनि १२ औँ सागमा प्रतिस्पर्धा गर्दा कास्य जितेको थिएँ। त्यो बेला खासै वास्ता भएको थिएन। अहिले त पुरस्कारहरु पाउँदा अझै राम्रो गर्नुपर्छ भन्ने लाग्यो।’ 
अझै केही सपनाहरु खेलमा रहेर नै पूरा गर्ने पुनमको सोचलाई आर्थिक अवस्थाले भत्काइदेला भन्ने डर बढिरहेको छ। पुनम भन्छिन्- ‘अहिले धेरै खेलाडी विदेश गएको सुनिरहँदा ममिले भनिरहनुहुन्छ, कहिलेसम्म खेल्ने हो? खेलेर के गर्ने हो?’ 
पुनमले अहिले नै विदेश जाने सोच बनाइसकेकी त छैनन्। तर परिस्थितिले त्यसबारे सोच्नुपर्ने हुन सक्छ भन्नेमा उनी सचेत छिन्। 
‘ममि पनि धेरै काम गर्न नसक्ने भइसक्नुभयो। कहिले यता दुख्यो भन्नुहुन्छ, कहिले उता दुख्यो भन्नुहुन्छ। भाइ बल्ल ८ कक्षामा पढिरहेको छ। परिवारले खेल भने पनि आफूले बाध्यताहरु देखेर पनि खेलिरहन सकिँदैन जस्तो लाग्छ’, उनी भन्छिन्, ‘यसअघि ममिले कमाउनुभएको पैसाले घर खर्च चलाएर मैले कमाएको बचत गर्न सकिरहेका थियौँ। तर अहिले त ममिको होटल सरसफाइको काम बन्द हुँदा कमाइ छैन। म आर्मीमा आबद्ध नभएको भए त यो समय धेरै धौ धौ हुने रहेछ।’  
.JPG)
नेपालमा अब खेलबाट मात्र केही हुँदैन भन्ने सोच्ने पुनम एक्ली होइनन्। विदेशिएका खेलाडी संख्या हेर्दा पनि खेल क्षेत्र कसरी चलिरहेको छ थाहा हुन्छ। पुनम भन्छिन्- ‘हामीले सानोदेखि देखेको राम्रो खेल्ने दाइ दिदीहरु सबै विदेश गएको देख्दा त खेल सीमित समयको लागि मात्र हो भन्ने लाग्छ।’
विदेशिएका पुराना खेलाडीले पनि पुनमलाई सम्झाइरहेका हुन्छन्- ‘पछि केही गर्न पनि खेलबाट पुग्दैन, घाँटीमा लगाएको मेडल हेरेर मात्र हुँदैन, बेलैमा सोच्नु।’
०००
पुनमले जुडोभन्दा पहिले तेक्वान्दो सिकेकी हुन्। रहरै रहरमा। सानोमा साथीहरुको लहलहैमा रंगशालातिर गइरहन्थिन्। त्यहाँ खेल अभ्यास भइरहेको हेर्थिन्। धेरै खेलहरु देख्दा उनीहरुलाई पनि खेलौँ जस्तो हुन्थ्यो। 
पुनमले रंगशाला जान थालेको सुरुमा दुई महिना जस्तो तेक्वान्दो खेलिन्। तेक्वान्दोमा पैसा तिरिरहनुपर्ने हुँदा सम्भव त्यो भएन। त्यसैले उनीसहित साथीहरु जुडोतिर पुगे। त्यहाँ गुरुले सित्तैमा खेलाउने भनेकाले उनीहरुको खेल सम्भव भयो। पुनम भन्छिन्- ‘पैसा तिरेर खेल्न सक्ने अवस्था त थिएन, जुडोमा पैसा तिर्न पर्दैन भनेपछि जुडो नै ठीक लाग्यो र त्यही खेल्न थालेँ।
.JPG)
जुडोमा पहिलो पटक प्रतिस्पर्धामा जाँदा उनको खेल राम्रो भएको थिएन। लगातार हारिरहेको थिइन्। ‘पहिला त राम्ररी सबै थाहा थिएन, मनोरञ्जनका रुपमा मात्र खेलिन्थ्यो। सानै पनि थियौँ। दुई तीन वटा प्रतिस्पर्धामा हारेपछि गुरुले पनि राम्ररी सम्झाउनुभयो। त्यसबेला अब मेडल ल्याउनुपर्छ भनेर मेहनत गर्न थालेँ। मेडल आउन थालेपछि अझै खेल्नुपर्छ भनेर मेहनत अझ बढाएँ’ उनले भनिन्। 
अहिले त सागदेखि एसियाली खेलकुद हुँदै विभिन्न प्रतियोगिताका लागि पुनम चीन, हंग्रेरी, थाइल्याण्ड जस्ता देशहरुमा पनि पुगिसकेकी छिन्। रहरमा सुरु भएर लक्ष्य बनेको जुडोले कहिलेसम्म साथ दिन्छ अब पुनमलाई थाहा छैन। यत्ति थाहा छ- जहिलेसम्म खेल्छु, मेहनतका साथ खेल्छु। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।