काठमाडौं- नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले मंगलबार पच्चीस वर्ष पुरा गरेको छ।
नेपालमा वर्ल्ड लिंकका करिब ४ लाख प्रयोगकर्ता रहेको कम्पनीका प्रबन्ध निर्देशक दिलिप अग्रवालले बताए।
वार्षिक उत्सवका अवसरमा बोल्दै प्रबन्ध निर्देशक अग्रवालले वर्ल्डलिंकमार्फत् नेपालीहरुले सस्तो मूल्यमा इन्टरनेट सेवा पाएको उल्लेख गरे। ‘नेपाली प्रयोगकर्ताहरुलाई अन्य देशको तुलनामा हामीले सस्तोमा इन्टरनेट प्रयोग गर्न दिएका छौं’ उनले भने।
प्रवन्ध निर्देशक अग्रवालका अनुसार विदेशबाट इन्टरनेट ल्याएर सेवा दिँदा ३० एमबीपीएस इन्टरनेट प्रयोग गर्न ५ डलर खर्चिनुपर्छ। यसरी प्रयोग गर्दा निकै महंगो पर्छ।
वर्ल्डलिंकले सस्तो मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराइरहेको र बाँकी दिनहरुमा पनि गुणस्तरीय सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको उनले जिकीर गरे।
पछिल्लो समय कोरोना महामारीका कारण इन्टरनेटको प्रयोग बढेकाले ४० देखि ५० प्रतिशत ब्यान्डविथ समेत बढेको कम्पनीले जनाएको छ। जसले गर्दा इन्टरनेट स्लो भएको हुन सक्ने बताइएको छ।
समस्या तथा गुनासोहरुको सम्बोधन गर्दै सेवालाई चुस्त बनाउँदै लैजाने कम्पनीले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्क हेर्दा सन् १९९५ मा सुरु भएको वर्ल्डलिंकले नेपालमा इन्टरनेट पहुँचमा ४३ प्रतिशत योगदान पुर्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।