काठमाडौं-अदालतमा दर्ता हुने मुद्दा तथा अभियोगपत्रमा प्रतिवादी तथा आरोपितको फोटो र नागरिकताको विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने भएकाे छ।
विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई परिपत्र गर्दै अनिवार्य रुपमा यी विवरण उल्लेख गर्नुपर्ने जनाएको हाे।
‘अभियोगपत्र पेश गर्दा प्रतिवादीहरुको फोटो र नागरिकता जारी भएको जिल्ला, नागरिकता नम्बरजस्ता विषय अनिवार्य खुलाउनु पर्ने कानुनी व्यवस्था भएकाले सोहीबमोजिम गर्नुहुन अनुरोध गरिन्छ’ विशेष अदालतले जारी गरेको परिपत्रमा उल्लेख छ।
त्यस्तै सर्वोच्च अदालतले पनि मुद्दा दर्ता गराउँदा ती विवरण अनिवार्य उल्लेख गराउन गत माघ २७ गते सबै अदालतलाई भनेको थियो ।
‘मुद्दा दर्ता गर्दा प्रतिवादीहरुको नागरिकताको विवरण पेश नगरेकाले अदालतबाट फैसला भएका व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन समस्या भएको, कैद तथा जरिवाना असुलउपर गर्न बाँकी रहेका व्यक्तिहरुको सार्वजनिक सेवा सुविधा रोक लगाउने कानूनी व्यवस्थामा समेत असर परेकाले नागरिकताको विवरण अनिवार्य रुपमा उल्लेख गर्नु’ सर्वोच्चले त्यसबेला भनेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।