एजेन्सी- एसिड आक्रमण विरूद्धको अभियानमा लागेका उज्ज्वल थापालाई भारतीय अभिनेता अमिताभ बच्चनले बधाई दिएका छन्। पछिल्ला ६ वर्षदेखि सक्रिय रूपमा लाग्दै आएका थापालाई उनको अभियान सफल भएको भन्दै भारतीय अभिनेता बच्चनले बधाई दिएका हुन्।
सोमबार ट्वीटरमा एक ट्वीट गर्दै उनले सेरवुड कलेजमात्रै नभएर नेपालकै गौरव बढाएको भन्दै बधाई दिएका हुन्।
एसिड आक्रमणका पीडितहरुको विषयमा थापाले उठाएका विषयहरूले सार्थकता पाएको भन्दै यस्तै राम्रा काम गर्नका लागि आग्रह गरेका छन्।
थापाले बिना कुनै संघ, बिना कुनै संस्था निरन्तर रूपमा ६ वर्षदेखि एसिड आक्रमणमा परेका पीडितलाई प्रत्यक्ष रूपमा सहयोग गर्दै र एसिड आक्रमणको विरूद्धमा आवाज उठाउँदै आएका छन्।
उनकै अभियानबाट प्रभावित भएर प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण गर्नेलाई कारबाही गर्नका लागि कानुनको मस्यौला तयार गर्न निर्देशन दिएका छन्।
थापा र बच्चन दुवैजना सेरवुड कलेजका विद्यार्थी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।