काठमाडौं- ललितपुर महानगरपालिकाको नगर प्रहरी बलले सडकपेटी मिचेर सञ्चालनमा रहेका वर्कसप हटाउन आग्रह गरेको छ। आइतबार सूचना जारी गर्दै महानगर प्रहरी बलले फुटपाथ मिचेर बनाइएका वर्कसप नहटाए असोज १ देखि कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
नगर प्रहरी बलको प्रमुखमा नियुक्त भएलगत्तै पूर्व ट्राफिक प्रहरी निरीक्षकसमेत रहेका सिताराम हाछेथुले पसल लिएर फुटपाथमा सामान थुपार्नेविरुद्ध कारवाही अभियान सुरु गरेका थिए।
सूचना अनुसार पहिलो चरणमा ललितपुर महानगरभित्र रहेका ग्यारेजबाट फुटपाथ अतिक्रमण हटाउन सुरु गरिने छ। ललितपुर महानगर प्रहरीले नेपाल अटोमेकानिक्स व्यवसायी संघलाई पत्र लेख्दै अटो वर्कसपमा काम गर्दा सडकमा सवारी र फुटपाथमा बटुवाहरुलाई बाधा पर्ने गरी नगर्न आग्रह गरेको छ।
अब त्यसरी व्यवसाय सञ्चालन नगर्न महानगरको नगर प्रहरी बलले संघको ध्यानकर्षण गराएको छ। यदि अटेरी भए कारबाही गरिने पत्रमा उल्लेख छ।
ललितपुरमा ३ सय वटा भन्दा बढी वर्कसप सञ्चालनमा रहेको अनुमान छ। धेरैजसो वर्कसपले सानो सटर लिएर वर्कसप चलाउने र मोटरसाइकल/स्कुटरहरू फुटपाथमा यत्रतत्र पार्किङ गराउने गरिएको पाइएकले व्यवस्थित गरि सञ्चालन गर्नुपर्ने महानगर प्रहरीको भनाइ छ।
नगर प्रहरीले नियम उल्लंघन गरे वर्कसप सञ्चालकलाई नियन्त्रणमा लिएर १० हजार जरिवाना गर्ने बताएको छ। अहिले ललितपुरमा निर्माण सामग्रीहरु फुटपाथमा राखेर बेच्ने प्रचलन झांगिएको छ। त्यसलाई पनि हटाउने नगर प्रहरी बल ललितपुरले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।