काठमाडौं- एनआइसी एसिया बैंकले न्यूनतम ब्याजदरमा नै सेयर धितो राखी कर्जा प्रवाह गर्न नयाँ योजना सार्वजनिक गरेको छ। सेयरलाई धितोमा राखेर ७.२५ प्रतिशत ब्याजदरमा नै कर्जा उपलब्ध गराउने उद्देश्यले लोन अगेन्सट सेयर योजना सार्वजनिक गरिएको जानकारी बैंकले दिएको हो।
यसरी सेयर धितो राख्दा सेयर मूल्यको ७० प्रतिशतसम्म कर्जा पाइनेछ। सेयर मूल्य गणना गर्दा भने १२० दिनको औसत कारोबार र कर्जा लिने दिनमा नेप्सेमा कारोबार भएको मूल्यमध्ये जुन कम छ त्यसलाई नै आधार मूल्य मानिने जानकारी बैंकले दिएको छ। सोही आधार मूल्यको ७० प्रतिशतसम्म रकम ७.२५ प्रतिशत ब्याजदरमा कर्जाका रूपमा लिन सकिने बैंकले प्रष्ट पारेको छ।
यस योजना अन्तर्गत न्यूनतम १ करोडदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ। यस अन्तर्गत ५० लाखसम्मको ओभरड्राफ्ट कर्जासमेत लिन सकिने सुविधा रहेको छ।
आवश्यक कागजात प्राप्त भएपश्चात्को ४८ घण्टाभित्र नै कर्जा दिने व्यवस्था गरेको बैंकले जनाएको छ। कर्जाबारे जानकारी लिन ३४४८८ मा अंग्रेजी अक्षरमा 'एल-ओ-ए-एन' टाइप गरी एसएमएस पठाउन सकिने छ। यसका साथै बैंकको निःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी थप जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैकले देशभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।