काठमाडौं–सरकारले हिलस्टेसनको गुरुयोजना निर्माणको जिम्मा नेस्ट प्रालिलाई दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा निर्माण हुने हिलस्टेसनको गुरुयोजना निर्माणको जिम्मा नेस्टलाई दिएको हो।
पर्यटन मन्त्रालयले झन्डै एक दर्जनभन्दा बढी आवेदनबाट नेस्टलाई छनोट गरेको हो। मन्त्रालयले भ्याटबाहेक कुल ४१ लाख ३१ हजार रुपौयाँमा सातै प्रदेशमा निर्माण हुने हिलस्टेसनको गुरुयोजना बनाउने जिम्मा नेस्टलाई दिएको हो।
मन्त्रालयले पहिलो पटक फागुन १५ गते भारतीय सीमाबाट नजिक रहेको पहाडमा पर्यटन विकासका लागि हिल स्टेसन निर्माणका लागि गुरुयोजना बनाउने भन्दै टेन्डर गरेको थियो। सातै प्रदेशमा हिल स्टेसन निर्माणका लागि आवश्यक गुरुयोजना तयार गर्न भन्दै आशयपत्र माग गरिएको थियो।
मन्त्रालयले २ नम्बर प्रदेशमा भने धार्मिक तथा ऐतिहासिक स्थललाई पर्यटन प्रवर्द्धनका लागि विकास गर्ने र अन्य ठाउँमा भने पहाडलाई केन्द्रमा राखेर काम गर्ने गरी गुरुयोजना बनाउन लागिएको जनाएको छ। गर्मीको समयमा तराईबाट पहाडमा गएर समय बिताउने गरी नयाँ पर्यटकीय गन्तव्य बनाउन लागिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले रिसोर्टदेखि कस्तो कस्तो पूर्वाधार बनाउन सकिन्छ भनेर विस्तृत अध्ययनसहितको गुरुयोजना तयार पार्न लागेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।