काठमाडौं–अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले अवकाश पाएका छन्। २०७१ चैतमा अख्तियारको आयुक्तमा नियुक्त भएका उनी २०७५ असोज ५ गते प्रमुख आयुक्त भएका थिए।
प्रमुख आयुक्तका रुपमा घिमिरेले दुई वर्ष काम गरे। उनको कार्यकालमा पनि अख्तियार विवादमुक्त रहेन। नेपाल ट्रष्ट, ओम्नी समूह, बालुवाटार जग्गाकाण्ड, गोकुल बाँस्कोटा घुस काण्ड, आयल निगमको जग्गा खरिदलगायत विवादमा अख्तियार घुमिरह्यो। घिमिरेको कार्यकालमा भएका स्टिङ अप्रेसन पनि विवादित भए।
विशेष अदालतले अख्तियारको स्टिङ अप्रेसनका मुद्दामा सफाइ दिन थालेपछि आयोगको अनुसन्धानमा प्रश्न उठेको छ। सर्वोच्च अदालतमा स्टिङ अप्रेसन गैरकानुनी भएको जिकीर गर्दै रिट पनि दायर भएको छ। घिमिरे निजामतितर्फ योग्य कर्मचारी भएकाले उनको कार्यकालमा केही पद्धति बसाल्ने आस गरिएको थियो।
संसदीय सुनुवाइका क्रममा पनि उनले अख्तियारमा पद्धति बसाल्ने प्रतिबद्धता जनाएका थिए। तर उनी अख्तियारमा रहँदासम्म सानालाई नछोड्ने र ठूलालाई नछुने नीति लिएपछि नागरिकको आशा निराशामा परिणत भएको छ। खासगरी सरकार जोडिएका भ्रष्टाचारमा अख्तियारले हात हाल्न खोजेन, जसले गर्दा नागरिकले अख्तियारको भुमिकाप्रति प्रश्न उठाइरहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।