सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको बाह्रविसे घुम्थाङ पहिरोमा बाँचेका छेसाङ तामाङले गाउँको सानो खोलाले यत्रो विध्वंस मच्चाउँछ भन्ने कसैले पनि नसोचेको बताएका छन्।
हाल उपचाररत तामाङले गाउँको सानो टँसाइ खोलाले विध्वंस मच्चाएको र गाउँमा त्यस्तो जोखिम होला भन्ने कसैले पनि नसोचेको बताए। उनले सुरक्षाकर्मी आएर तानेपछि आफू बाँच्न सफल भएको पनि बताएका छन्।
उनको अनुभूति जस्ताको तस्तैः
बाह्रबिसे नगरपालिका वडा नम्बर ७ डाडागाउँ किम्बेटोलमा घरभित्र सुतिरहेका थियौं। अचानक बिहान साढे ३ बजे घर पुरै हल्लाउन थाल्यो। भूकम्प आयो भन्ठानेर मैले परिवारका सबै सदस्यलाई उठाएर घरबाहिर निक्लिएँ। बाहिर निक्लिँदा वरिपरी पहिरोले घेरिसकेको रहेछ। छोराछोरीसहित म आत्तिएर पारी हेर्न थालेँ। पारीबाट छिमेकी र आफन्तले भाग–भाग भनेर चिच्याउँदै, रुँदै कराउँदै थिए। पहिरो केही थामिएपछि भाग्न खोज्यौ। तर, पहिरोले बीचमै मलाई छोप्यो। केही समय त सास पनि फेर्न सकिनँ। तर छिमेकीसहित सुरक्षाकर्मीले आएर तानेपछि सबै बाँच्न सफल भयौं।
यसरी बाँचिएला, अस्पताल आइएला भनेर सोचेकै थिइनँ। गाउँमा यस्तो जोखिम होलाजस्तो लागेको थिएन। तर नपत्याउँदो खोलाले बगाउँछ भन्थे, हो रहेछ। सानो टंसाइ खोलाले बगाएर यत्रो विध्वंस मच्चियो। मेरो परिवारलाई त केही भएन। तर भीरखर्क र नागपुजेका छिमेकी जिउँदो रहेनछन्। अब गाउँ पुरै जोखिममा छ, कहाँ गएर बस्ने ठेगान छैन। हे भगवान अब यस्तो कहिल्यै नहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।