काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियानअन्तर्गत यसै आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने नीति सरकारले लिएको बताएका छन्।
राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पूरा हुन नसकी सडकमा बेवारिसे जीवन विताइरहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने कामको थालनी गरेको पनि जनाएका छन्।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रुपमा स्थापित गरेअनुरुप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको उल्लेख गर्दै ओलीले चालु पन्ध्रौं आवधिक योजनाले बाल अधिकार सुनिश्चित बालमैत्री समाजको परिकल्पना गरी कार्यान्वयनमा अग्रसरता लिएको जनाएका छन्।
उनले बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने सरकारको प्रतिबद्धता रहेको बताएका छन्।
‘बालबालिकाको शारीरिक, मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोग सहितको स्तरीय शिक्षाको अधिकार, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने सरकारको नीति छ, ’ सन्देशमा उनले भनेका छन्।
यस वर्ष ‘विपदमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ बाल दिवस मनाइँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।