काठमाडौं–नेपालमा युवा वैज्ञानिकहरुको आवाजलाई उठाउने हिसाबले युवा वैज्ञानिकहरुको संस्था नेशनल योङ एकेडेमी नेपाल (नयन) गठन गरिएको छ। हाललाई डा वसन्त गिरीको अध्यक्षतामा डा बालकुमारी ओलिया, डा विषेश खनाल, डा सागर रेग्मी, डा स्मृति पन्त, डा सुरज भट्टराइ र डा उत्तमबाबु श्रेष्ठ गरि सात सदस्यीय तदर्थ समिति गठन गरिएको छ।
उक्त संस्था गठन गर्नुअघि नेपाली युवा अध्येताहरुले गत वर्ष भदौ, कार्तिक, र पुसमा वृहत भेला तथा छलफल गरेका थिए। संस्थाले सदस्यताका लागि निकट भविष्यमा नै निवेदन आव्हान गरिने जनाएको छ। ‘हामीले यो एकेडेमीका सदस्यहरु प्राज्ञिक उत्कृष्टताका आधारमा छनोट गर्नेछौं’, तदर्थ समितिका अध्यक्ष डा गिरीले भने।
जुनसुकै शैक्षिक विधाका अनुसन्धानकर्ताहरुले सदस्यता लिन पाउने जनाइएको छ। हालसम्म विश्वका ४१ देशमा यस्तो राष्ट्रिय एकेडेमी खोलिएको र उनीहरुसँग नेपालका युवा वैज्ञानिक एकेडेमीले पनि हातेमालो गर्दै अगाडि बढ्ने सदस्य डा उत्तमबाबु श्रेष्ठले बताए।
उक्त एकेडेमीले नेपाली युवा अध्येताहरुको अवस्थाका बारेमा बुझ्न राष्ट्रियस्तरको सर्वेक्षण पनि आइतबारदेखि नै सुरु गरिएको छ। उक्त सर्वेक्षण नेपालमा पहिलो पटक गरिन लागेको एकेडेमीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।