सिन्धुपाल्चोक-बाह्रविसे ७ का वडाध्यक्ष मीनबहादुर श्रेष्ठ शनिबार साँझसम्म पनि घुम्थाङको नागपुजेका बासिन्दासँग कुरा गरेर फर्किएका थिए। घरमा आएर खाना खाएर सुते। तर बिहान उठ्दा गाउँको नामोनिशाना थिएन। पहिरोले गाउँ नै बगाइसकेको थियो।
‘राति एक्कासी ठूलो आवाजसहित पहिरो गयो, हामी निन्द्रामै थियौं,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘बिहान २ बजेतिर त गाउँ नै थिएन।’
लगत्तै नगरपालिका, जिल्ला प्रशासन र अन्य स्थानमा खबर गरेर उद्धार सुरु गरिएको उनले बताए। अन्य स्थानबाट पाहुना लाग्न आएका मानिससमेत पहिरोमा पुरिएको उनले बताए।
अविरल वर्षाका कारण गएराति बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजेस्थित फड्के खेतमा पहिरो जाँदा नागपुजे र भीरखर्क गाउँ बगाएको छ। एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजेमा ठुलो क्षति पुर्याएको बाह्रबिसे नगर ७ घुम्थाङका वडासदस्य वीरबहादुर थापाले बताए।
सिन्धुपाल्चोकको बाहबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरो जाँदा २२ जना बेपत्ता भएका छन् भने ९ जनाको शव फेला परेको छ। पहिरोले नापुले गाउँको गाउँका १२ घर बगाएको छ। एकै रातमा सिंगै गाउँ बगाएको छ। केही मानिस भने भाग्यले बाँचेका छन्।
घटनास्थल अरनिको राजमार्गको बसेरीबाट एक घन्टाको दुरीमा पर्छ। बाह्रविसे पहिरोस्थल अवलोकन गर्न सभामुख अग्नि सापकोटा पुगेका छन्। उक्त क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत हो । पहिरो प्रभावितलाई भेट्न सभामुखस्थल मार्गबाट गएका हुन्।















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।