सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको बाह्रविसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएकामध्ये तीन जनाको शव भेटिएको छ। नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्कीनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।
नागपुजेमा १५ र भीरखर्कमा नौ गरी अझै २४ जना बेपत्ता छन्। उनीहरुको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेका छन् ।
सिन्धुकोटका नौ घर जोखिममा
यस्तै, मेलम्ची नगरपालिका–५ सिन्धुकोट गोल्पुटोलमा गए रातिको अविरल वर्षापछि आएको पहिरोको कारण बस्ती जोखिममा परेको छ । नौ घर रहेको उक्त बस्तीमा चारैतिर पहिरो आउन थालेपछि बस्नका लागि जोखिम भएको हो।
तत्काल बस्ती नसारेमा थप विपत्तिको सामना गर्नुपर्ने स्थानीय सुनिल मिजारले बताए। त्यसैगरी सिन्धुकोटकै कमल श्रेष्ठ, चेतकुमारी राना, रामबहादुर राना, कृष्णबहादुर मिजार, डल्ली सार्की र कुमार मिजारको घर पनि जोखिममा परेको छ।
यस्तै, जुगल गाउँपालिकाको चनौटेमा पाँच घर पहिरोमा परेको छ। दुई घर पूर्णरूपमा पुरिएको छ भने तीन घरमा क्षति पुगेको छ । एक जना घाइते भएको गाउँपालिका उपप्रमुख सिर्जना तामाङले जानकारी दिइन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।