काठमाडौं–बाह्रविसेको घुम्थाङ पहिरोमा पुरिएकाहरुको उद्धार सुरु भएको छ। सुरक्षाकर्मी र नगरपालिकाको टोली पहिरोस्थल पुगेकाले उद्धार सुरु गरेको मेयर निमफुन्जो शेर्पाले बताए।
राति सुतिरहेको समयमा पहिरो आउँदा धेरै मानवीय क्षति भएको वडाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए। भीरखर्कबाट आएको पहिरोले नागपुजेमा क्षति पुर्याएको उनले बताए। ‘बाहविसे नगरकै सुरक्षित क्षेत्रको रुपमा यसलाई हेरिएको थियो तर राति कसरी पहिरो आयो, गाउँ नै आधा बगायो,’ श्रेष्ठले भने, ‘केही घरहरु जोखिममा परेका छन् ,विद्यालय पनि आधा वगाएको छ।’
लगातारको वर्षाले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे, भीरखर्क र चाङसारमा गएराति पहिरो खसेको थियो। यी तीनै क्षेत्रमा गरि १९ घर पुरिएको प्रारम्भिक जानकारी आएको उनले बताए। नागपुजेमा कम्तिमा ८ घर, भीरखर्कमा कम्तिमा १० घर र चाङसारमा केही घर पुरिएको खबर आएको उनले बताए। नागपुजे पहिरोमा पुरिएकामध्ये एक महिलाको शव फेला परेको उनले बताए।
त्यहाँ कम्तिमा २० देखि २५ जनाको ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बाह्रबिसे नगरपालिकाका मेयर शेर्पाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।