तस्बिर : बजिरसिंह भण्डारी
काठमाडौं–अविरल वर्षाका कारण गएराति बाह्रबिसे नगरपालिका वडा ७ घुम्थाङ नागपुजेस्थित फड्के खेतमा पहिरो जाँदा नागपुजे र भीरखर्क गाउँ बगाएको छ। एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजेका ७ घर र भीरखर्कमा १० घर पूर्ण रुपमा बगाएको छ भने थप ३ घरमा क्षति पुर्याएको छ।
बाह्रबिसे नगरपालिका ७ घुम्थाङका वडासदस्य वीरबहादुर थापाका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए। ती घरका मान्छे बेपत्ता भएपछि सम्पर्क गर्ने प्रयास थालिएको छ। घटनास्थलमा पुगिसकेका इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेका ७ घरमा १७ जना बेपत्ता भएको सूची बनाइसकिएको छ।
‘एउटा शव भर्खरै फेला परेको छ, पहिचान हुन सकेको छैन्,यकिन विवरण भने अझै आइसकेको छैन्,’ उनले भने। स्थानीय, आफन्त र सुरक्षाकर्मी बेपत्ताको खोजीमा जुटिसकेका छन्।
प्रहरी निरीक्षक न्यौपानेको नेतृत्वको सुरक्षाकर्मीको टोली बाह्रबिसे नगर ७ कै भीरखर्कमा १० घर बगाएको स्थानमा पैदल पुग्दैछ। भीरखर्कमा १० घर पुरिएको खबर आए पनि यकिन हुन सकेको छैन। सुरक्षाकर्मी नपुगेको हुनाले यकिन विवरण पाउन कठिनाइ भएको हो।
त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएका छन्। त्यहाँ मानवीय क्षति नभएको बताइएको छ। घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।