सांकेतिक तस्बिर
बागलुङ–बागलुङको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ। गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुगेको हो। मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पु¥याएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए। उनका अनुसार पुल मर्मत सम्भार गर्नमात्रै रु एक करोडभन्दा बढी खर्च लाग्नेछ।
यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुलसमेत बाढीले बगाएको छ। पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ। ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्याएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए।
‘अविरल वर्षासँगै आएको बाढीबाट ताराखोलामा ठूलो भौतिक क्षति भएको छ’, अध्यक्ष घर्तीले भने, ‘बाढीका कारण झोलुङ्गे पुल, मोटरेबल पुल, जलविद्युत् तथा सडकमा क्षति पुगेको छ।’ घर्तीले सडक, जलविद्युत् तथा पुल मर्मत कार्य गर्न थालिए पनि ठूलो खर्च लाग्ने बताए।
गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदै आएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन बन्द भएको छ। ताराखोला–१ पूरै र सिले र अर्गलको केही भागबाहेक अन्य स्थान अन्धकार भएको छ। बाढीले लघु जलविद्युत् आयोजनाको इन्टेक, पोल तथा तारमा क्षति पु¥याएको छ। गाउँपालिकाको वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो बगाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।