काठमाडौं- खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा मीना श्रेष्ठलाई नियुक्त गरिएको छ। विभागको उप महानिर्देशक पदमा कार्यरत श्रेष्ठ विभागकै पहिलो महिला महानिर्देशक भएको खानेपानी मन्त्रालयले जानकारी दिएको छ।
यसअघिका महानिर्देशक सुनिल कुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो। श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।
खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा श्रेष्ठलाई पदस्थापन गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयका प्रवक्ता शाक्यले बताए।
यसअघि सिभिल इन्जिनियरको रुपमा श्रेष्ठ भवन विभागमा कार्यरत थिइन्। वि.सं २०५३ देखि सरकारी सेवामा रहनुभएकी श्रेष्ठ अनुभवी र क्रियाशील कर्मचारी हुन्। नेपाल सरकारको कोटाबाटै स्नातक तहसम्मको पढाई पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गरेकी श्रेष्ठले स्नातकोत्तर तहको पढाई भने स्ट्रक्चरल इन्जिनियरिङतर्फ बैंककबाट पूरा गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।