डडेल्धुरा–डडेल्धुरको आलिताल गाउँपालिकामा सालको वन फडानी गरेको भन्दै सुदूरपश्चिम प्रदेशसभाकी सांसद कुन्ती जोशीका स्वकीय सचिव शर्मानन्द जोशीलाई नियन्त्रणमा लिइएको छ।
डिभिजन वन कार्यालय डडेल्धुराले जोशीका सहोदर भाइ शर्मानन्द बस्ने घरबाट अवैध काठ बरामद गरिएको जनाएको छ। यद्यपि उक्त घर सांसद जोशीकै भएको स्थानीयले बताएका छन्। हिरासतमा लिइएका उनलाई आइतबार सरकारी वकिलसमक्ष उपस्थित गराइने वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए। ‘उहाँ बुधबार आफैं निवेदन लिएर वन कार्यालय आउनुभएको थियो, त्यसपछि अनुसन्धानका लागि भनेर हामीले हिरासतमा लिएका छौं,’ आचार्यले भने।
भदौ ८ गते आलिताल गाउँपालिका ८ मा रहेको जोशी बस्ने घरबाट ५७ घनफिट काठ बरामद भएको डिभिजन वन कार्यालयले बताएको छ।
भदौ ४ गते आलिताल गाँउपालिका–८ मा निर्मित डोला चक्रपथमा सडक निर्माणका क्रममा काटिएका एक सय १० थान गोलिया काठ बरामद गरिएको थियो।
सोही प्रकरणमा भदौ ५ गते सामुदायिक वनका अध्यक्ष र एक जना मजदूरलाई हिरासतमा लिइएको थियो। यस्तै उग्रतारा कन्स्ट्रक्सन नामक निर्माण कम्पनीमा कार्यरत तीन जनालाई पनि हिरासतमा लिइएको छ। घटनासम्बन्धी अनुसन्धान भइरहेको डिभीजन वन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।